arrow

पतञ्जली जग्गा प्रकरण

विपक्षी नेतालाई भ्रष्टाचार मुद्दा लाग्नै नहुने, माधवबारे प्रचण्ड भन्छन् – प्रतिशोध साँधियो [भिडियो]

प्रधानमन्त्रीको राजनीतिक गन्ध आयो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
prachanda-02-23.jpg

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दायर गरिनु राजनीतिक प्रतिशोध भएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट 'राजनीतिक प्रतिशोधको गन्ध' आएको बताए।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले मुद्दा दर्ताप्रति अध्यक्ष नेपाल आफैंले आश्चर्य प्रकट गरेको र अदालतले न्याय दिनेमा विश्वस्त रहेको उल्लेख गरे। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाए।

प्रचण्डले भने, "माधवजीको विषयमा स्वयं माधवजी नै आश्चर्यमा परेको कुरा गर्नुभएको छ। अदालतप्रति माधवजीले नै भरोसा छ, अदालतले न्याय गर्छ र छिट्टै सफाई पाएर फर्किन्छु भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। मैले पनि पक्कै पनि उहाँमाथि अदालतले न्याय गर्छ भन्ने ठान्छु। तर प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ।"

अख्तियारले यसअघि ललितानिवास प्रकरणमा प्रधानमन्त्री र मन्त्रिपरिषद्का नीतिगत निर्णयहरू आफ्नो क्षेत्राधिकारबाहिर पर्ने भन्दै पन्छिएको स्मरण गराउँदै प्रचण्डले अहिले सोही प्रकृतिको मुद्दा दर्ता गर्दा अख्तियारले जवाफ दिनुपर्ने बताए।

"अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको छ। पहिला अख्तियारले नै प्रधानमन्त्रीको बारेमा कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको डिसिजनको बारेमा नीतिगत निर्णयको विषय अख्तियारको क्षेत्राधिकारभन्दा बाहिरको कुरा भएकाले ललितानिवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे प्रश्न उठेको थियो, यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन जे गर्नुछ, क्याबिनेटले नै गरोस् भने चिठी लेखेको मैले आफैँले हेरेको छु," उनले थपे, "तर अहिले त्यही अख्तियारले माधवजीले गरेको त नीतिगत नै निर्णय हो। जे गरेको भएपनि। त्यसैमा फेरि प्रवेश गरेकोले प्रश्न उठेको छ, सायद अख्तियारले जवाफ देला।"

प्रचण्डले नीतिगत निर्णयमा अख्तियारले छानबिन गर्दै जाने हो भने कोही पनि प्रधानमन्त्री छानबिनको दायराभित्र आउने अवस्था सिर्जना हुने बताए। उनले यस्तो निर्णय नीतिगत र सैद्धान्तिक रूपले ठीक हो कि होइन भन्नेबारे बहस आवश्यक रहेकोमा जोड दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतमा बिहीबार दर्ता भएको उक्त मुद्दामा अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ