नागरिकता विधेयक चाँडो पारित गरौँ - गृहमन्त्री लेखक
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
1.7k
Shares
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो टुंग्याउन आग्रह गरेका छन्। उनले यो विधेयक पारित भएसँगै विभिन्न पीडामा रहेका नागरिकहरूको समस्या समाधान हुने बताए।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले भने, "जे-जे गर्ने हो गरौँ तर चाँडो पास गरौँ। किनभने पीडा छ।"
गृहमन्त्री लेखकले गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिए। उनले गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै विधेयक आवश्यक पर्ने र यो विधेयकले सम्बोधन नगर्ने स्पष्ट पारे। गैरआवासीय नेपालीलाई संविधानको भावनाअनुसार राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको नागरिकता दिइने उनले उल्लेख गरे। उक्त विधेयक विभिन्न मन्त्रालयहरूमा राय र परामर्शका लागि गइसकेको र सरकारले चाँडै मन्त्रिपरिषद्को सहमतिका साथ सदनमा लैजाने तयारी गरेको छ।
लेखकले नेपाली आमाबाट जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको, तर बाबुको ठेगाना नभएको वा बेपत्ता भएको अथवा सहयोग नगरेको व्यक्तिलाई पनि जिल्लाबाटै नागरिकता दिने व्यवस्था गरिने बताए। "सबै खालका नागरिकता जिल्लाले दिइरहेको छ भने नेपाली आमाबाट जन्म भई नेपालमा नै स्थायी बसोवास गरेको बाबुको ठेगाना नभएको वा बेपत्ता भएको अथवा सहयोग नगरेको मानिसलाई किन मन्त्रालयले दिने?" उनले प्रश्न गर्दै भने, "अरू सबै नागरिकता जिल्लाले दिने, त्यो चाहिँ मन्त्रालयले दिने भन्ने हुँदैन, यसलाई जिल्लामा पठाउनुपर्छ भन्नेकुरामा म स्पष्ट छु।" यसका लागि नियमावली संशोधन गर्ने प्रक्रिया पनि अघि बढेको र काठमाडौंस्थित मन्त्रालयमा रहेका फाइलहरू पनि सबै जिल्ला पठाउने उनले बताए।
गृहमन्त्री लेखकले अध्यागमनसम्बन्धी ऐनलाई संशोधन गरी नयाँ ऐन बनाउने गरी सरकार अघि बढिसकेको जानकारी पनि दिए।