arrow

राज्य व्यवस्था तथा सुशासन समिति

नागरिकता सबैलाई दिने भएपछि कागजपत्र र दण्ड जरिबानामा कडाइ गर्नुपर्छ [भिडियो]

नेपाली नागरिकता त्याग गरेर विदेशी नागरिकता लिने र नेपाल फर्किएर आइसकेपछि पुनः वंशजकै नागरिकता दिने कुरामा पनि सोच्न जरुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
manbir-rai-.jpg

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नागरिकता सबैलाई दिने भएपछि कागजपत्र र दण्ड जरिबानामा कडाइ गर्नुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रक्षामन्त्री राईले भविष्यमा नागरिकता सबैलाई दिनेगरी अघि बढ्दा नेपालमा विभिन्न किसिमका गतिविधि हुनसक्ने भएकाले कागजपत्रमा कडा निगरानी गर्न जरुरी रहेको बताए। उनले जन्मदर्ता गर्ने कर्मचारीले फर्जी वितरण गरेको खण्डमा उसको बढुवादेखि जागिरमै समेत बन्देज गर्ने जस्ता प्रावधान राख्न सुझाव दिए।

रक्षामन्त्री राईले अनलाइन प्रणालीमा जाँदै गर्दा झनै कडाइका साथ निगरानी गर्नुपर्ने बताए। अनलाइन रेकर्डमा बस्नेले कागज सुरक्षित गरेर राखेन भने त्यसलाई पनि दण्ड हुनुपर्ने उनको भनाइ थियो। नेपाली नागरिकता त्याग गरेर विदेशी नागरिकता लिने र नेपाल फर्किएर आइसकेपछि पुनः वंशजकै नागरिकता दिने कुरामा पनि सोच्न जरुरी रहेको उनले बताए।

मन्त्री राईले भने, "हाम्रो देशमा नागरिकता सम्बन्धमा विभिन्न गतिविधिहरू हुनसक्छन्। अब हामीले नागरिकता सबैलाई दिने भनिसकेपछि अब डकुमेन्टमा टाइट गर्ने र जरिबाना र दण्ड कडा गर्नुपर्छ। जन्मदर्ता गर्ने कर्मचारीले, सचिवले जन्मदर्ता उसले फर्जी गर्‍यो भने उसको प्रमोसनदेखि जागिरमा के असर पर्ने हो, त्यो गर्नैपर्छ। वडा अध्यक्षले फर्जी मान्छेको नागरिकता सिफारिस गर्‍यो भने उसले राजनीति गर्न नपाउनेदेखि के-के निषेध गर्ने हो, यो कर्मचारी र जनप्रतिनिधिलाई पनि गर्नुपर्छ। त्यो जन्मदर्ता गर्दाखेरि सचिवलाई आशंका भयो भने वडा सदस्यहरू त जम्मै वडामा हुन्छन्। वडा सदस्यहरूलाई बोलाएर रोहबरमा राखेर दिनुपर्छ। अब सिफारिस गर्ने र सनाखत गर्ने कुरामा कडाइ गर्नुपर्छ।"

रक्षामन्त्री राईले आमा र बुबा दुवै जना नेपाली नै भएका नागरिकका सन्तानले मात्रै वंशजको नागरिकता पाउनुपर्ने बताए। बुबा नेपाली र आमा विदेशी भए फरक खालको नागरिकता दिनु उचित हुने उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ