काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै सबै प्रश्नको जवाफ दिने बताएका छन्।
बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए। जसमा समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन उनले समिति सदस्यहरूसँग आग्रह गरे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यस विषयमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहेको आरोप लगाउँदै विपक्षी दलहरूले संसद अवरुद्ध पार्दै आएका छन्।
मन्त्री लेखकले भने, "अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही साथीहरू, कर्मचारीहरू र केहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन र तत्सम्बन्धमा भइरहेको विषयमा जिज्ञासा राख्नुभयो। यो जिज्ञासा यो समितिका मात्रै साथीहरूलाई मात्रै भएको भए यी जवाफ दिएर जान्थें। यो अरू साथीहरूलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाउँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु।"
गृहमन्त्री लेखकले संसदमा जवाफ दिँदा सबै सदस्यहरूको प्रश्नको जवाफ आउने र संसदमा सबै प्रश्नको जवाफ दिने बताए।