गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद चल्न नदिने अडान कायमै [भिडियो]
हाम्रो मुख्य चासो चाहिँ कता हो भने छानबिन गर्नुपर्यो, यो एउटा सामान्य मात्र विषय नभई राष्ट्रिय मुद्दाको रूपमा स्थापित भइसकेको छ
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
633
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरुद्ध गर्ने अडानमा प्रतिपक्षी दलहरू कायम रहेको बताएका छन्।
आज (मंगलबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद सापकोटाले यस्तो बताएका हुन्। गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनको सुनिश्चितता नगरेसम्म संसदको कारबाही अगाडि बढ्न नदिने उनको भनाइ छ। सांसद सापकोटाले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए।
उनले गृहमन्त्री व्यक्तिगत रूपमा राजीनामा दिन इच्छुक भए पनि गठबन्धन र आफ्नै पार्टीको दबाबका कारण राजीनामा नदिएको जानकारीमा आएको समेत बताए।
"गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद चल्न सक्दैन भन्ने हाम्रो पूर्ववत् अडान कायमै छ," उनले भने, "यसमा हामी थप के स्पष्ट पार्न चाहन्छौँ भने हाम्रो मुख्य चासो चाहिँ कता हो भने छानबिन गर्नुपर्यो। यो एउटा सामान्य मात्र विषय नभई राष्ट्रिय मुद्दाको रूपमा स्थापित भइसकेको छ।"
उनले थपे, "राष्ट्रिय मुद्दा भएको हुनाले निष्पक्ष रूपले छानबिन गर्ने र सत्यतथ्यलाई सार्वजनिक गरेर जनताका बीचमा ल्याउनुपर्छ। यसभित्र भए गरेका कामकारबाही र क्रियाकलापका बारेमा छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्यो भन्ने हाम्रो मुख्य सवाल छ। छानबिनलाई प्रभावकारी बनाउन नैतिक रूपमा माननीय गृहमन्त्रीज्यूले राजीनामा दिँदा नै उहाँलाई पनि र यो छानबिनलाई पनि राम्रो गर्छ भन्ने हाम्रो बुझाइ छ।"
सांसद सापकोटाका अनुसार, सत्तारुढ दलहरू छानबिनका लागि पनि तयार भइसकेका छैनन्। "गृहमन्त्रीजी व्यक्तिगत रूपमा राजीनामा दिनको लागि तयार भएको जस्तो पाउँछौँ हामी तर गठबन्धन र उहाँको पार्टीले राजीनामा नदिन भनिराखेको जस्तो बुझिन्छ," उनले भने।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्।