सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै: बजेटमाथि छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
1.8k
Shares
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभा, आज (मंगलबार) बैठक बस्दैछन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि तय भएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ।
प्रतिनिधिसभाको कार्यसूची
आजको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्' भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।
त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले 'सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२' पेस गर्ने कार्यसूची छ।
राष्ट्रियसभाको कार्यसूची
राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको 'भन्सार विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले 'सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, उनले 'प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्' भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।