मनसुनको पूर्वतयारीमा ध्यान दिन देउवाको सरकारलाई सुझाव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
683
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुन सुरु हुन लागेको भन्दै बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि तत्काल पूर्वतयारीमा लाग्न सरकारलाई आग्रह गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस पटक बढी वर्षा र तापक्रम बढ्ने प्रक्षेपण भएको भन्दै त्यसबाट हुने जनधनको क्षति र संक्रामक रोगहरूबाट जोगाउन आवश्यक सतर्कता अपनाउनुपर्ने बताए।
देउवाले भने, "विकास संरचना निर्माणका क्रममा वातावरणीय पक्षलाई बेवास्ता गर्नुले क्षति अझ बढेको छ। मनसुन सुरु हुन लाग्यो। यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा यसबाट हुने बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरूबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वसतर्कता, सतर्कता र तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरू तत्काल गर्न आग्रह गर्दछु।"
उनले अब नेपाललाई विकास निर्माण नभई दिगो विकास चाहिएकोमा जोड दिए। स्वच्छ र सुरक्षित नेपाल आगामी पुस्तालाई हस्तान्तरण गर्नु आफूहरूको कर्तव्य भएको पनि उनले बताए।
सभापति देउवाले जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रका आधारस्तम्भहरू जस्तै कृषि, पर्यटन, जलविद्युत क्षेत्रमा गम्भीर असर पुर्याएको र यसले आर्थिक तथा सामाजिक विभेद बढाउनुका साथै अर्थतन्त्रमा जोखिम थपेको जिकिर गरे।