भिजिट भिसा प्रकरणमा आफ्नो बचाउ गर्दै गृहमन्त्री लेखकले के भने ? [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
534
Shares
काठमाडौँ । भिजिट भिसा तथा रकम असुली प्रकरणमा चौतर्फी आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखकले बुधबार आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्न नपाएपछि सङ्घीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लागेका आरोपहरू खारेज गरेका हुन्।
गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयलाई लिएर 'मन्त्रीको पनि संलग्नता छ' भन्ने प्रचार, समाचार र सामाजिक सञ्जालमा व्यक्त विचारहरू असत्य र बेठीक भएको बताए। उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले आक्रमण गरिएको जिकिर गर्दै यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित भएको र यसको क्रम जारी रहेको अनुभूति भएको उल्लेख गरे।
उनले भने, "अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको यो विषयलाई लिएर मन्त्रीको संलग्नता छ भन्ने ढङ्गले विभिन्न प्रचारहरू, समाचारहरू र सामाजिक सञ्जालमार्फत विचारहरू अभिव्यक्ति भएका छन्। यो विषयमा मेरो संलग्नता देखाएर समाचारहरू र सामाजिक सञ्जालमार्फत धारणाहरू अभिव्यक्त भएका छन्, यो असत्य कुरा हो, यो बेठीक कुरा हो र यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा यहाँहरूमार्फत निवेदन गर्न चाहन्छु। मलाई मेरो विरुद्धमा नियोजित, षड्यन्त्रपूर्ण ढङ्गले आक्रमण गरिएको छ। यो आक्रमण राजनीति पूर्वाग्रहले प्रेरित छ। षड्यन्त्र मुलुक छ र यसको क्रम जारी छ भन्ने अनुभूति गरेको छु।"
भिजिट भिसामा विदेश जानेहरूसँग लाखौं असुली गरेको प्रकरणमा गृहमन्त्री लेखकले आरोप खेपिरहेका छन्। मंगलबार र बुधबारको प्रतिनिधिसभाको बैठकमा आफ्ना भनाइ राख्ने तयारी गरे पनि विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि संसद अवरुद्ध हुँदै आएको छ। विपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने माग राखेका छन्।