बिहीबार संघीय सरकार बजेट पेश गर्दै, माओवादी सकारात्मक, प्रतिनिधि सभा बैठक दिउँसो साढे १ बजे बस्ने
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
2.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो बस्ने भएको छ । बुधबारको बैठक पनि विपक्षी दलहरूले अवरोध गरेसँगै स्थगित भएको थियो । त्यसपछि बैठक सूचना टाँस गरेर स्थगित भएको जनाउँदै बिहीबार दिउँसो साढे १ बजे बस्ने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभा बैठक बस्न नसकेका कारण पछिल्लो समय सांसदहरु संसद बैठकमा बस्ने अनि केही मिनेटमै फर्कने गरेका छन् । जसका कारण बजेट पनि आउने हो कि हैन भन्ने शंका भइरहेको छ ।
यही शंका चिर्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बजेट पेश गर्नका लागि सकारात्मक भएको जनाएको छ ।
माओवादी अध्यक्ष नेता पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक प्रावधान अनुसार बजेट आउन दिनेमा आफ्नो दल सकारात्मक भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच बुधबार भएको टेलिफोन संवादमा उनले बजेट प्रस्तुत गर्ने सम्बन्धमा भने सकारात्मक रहेको जनाएको स्रोत बताउँछ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित विपक्षी दलहरुले संसद बैठक अवरोध गरिरहेका छन् । सोही कारण मंगलबार र बुधबार नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ ।
जसका कारण बिहीबारको संसदबाटै सरकारले आर्थिक वर्ष २०८२–८३ को बजेट सार्वजनिक गर्ने नगर्नेमा अन्योल चलिरहेको छ ।
प्रमुख प्रतिपक्ष दलका संसदीय दलका नेता प्रचण्डले नै भनेपछि भने बजेट संसद भवनबाटै आउने छ । तर प्रचण्डले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडान कायम राखेका छन् ।
लेखकलाई बजेट पेश गर्नुअघि नै राजीनामा दिनसमेत उनले सुझाएको बताइएको छ ।