गृहमन्त्रीको राजीनामा मागबारे एमाले: 'धान काट्ने मुसा, दोष पाउने भ्यागुता ?' [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
880
Shares
काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरी 'असंसदीय र अराजनीतिक व्यवहार' देखाएको टिप्पणी गरेका छन्।
मङ्गलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलालले यस्तो टिप्पणी गरेका हुन्। उनले कर्मचारीहरूमाथि विगतमा पनि धेरै अध्ययन अनुसन्धान भएको उल्लेख गर्दै अनुसन्धानको दायरामा रहेका कर्मचारीको विषयलाई जोडेर मन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए।
बर्तौलाको भनाइ छ, "पटकपटक सरकारमा बसिसकेको प्रमुख प्रतिपक्षी दलबाट एउटा कुनै कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिन वा अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीकै राजीनामा माग्ने र त्यसका लागि संसद अवरोध गर्ने जे खालको व्यवहार प्रदर्शन भयो यो असाध्यै असंसदीय, अराजनीतिक प्रक्रियाको संसदमा पुनरावृत्ति भयो। यो एकदमै दुःखद् कुरा छ।"
उनले थपे, "कर्मचारीमाथि अनुसन्धान भइरहेको सन्दर्भमा मन्त्रीहरूलाई जवाफदेही बनाएर लैजाने प्रवृत्तिले हरेक एक दिनमा एक मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था निर्माण हुन्छ।" बर्तौलाले प्रतिपक्षीले कर्मचारीको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा मागेर 'धान काट्ने मुसा दोष पाउने भ्यागुता' को प्रवृत्तिमा जान खोजेको आरोप लगाए।
मङ्गलबारको सभाको बैठकमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले नाराबाजी गरेका थिए।