बालेन लक्षित ओलीको निर्देशन - सरकारको कार्यक्रममा अनुपस्थित हुनेलाई अब नबोलाउनु [भिडियो]
बालेनलाई सधैँ कार्यक्रममा बोलाइरहने तर उनी कहिल्यै नआउने गरेको टिप्पणी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
863
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारद्वारा आयोजित कार्यक्रमहरूमा बोलाइए पनि सहभागी नहुने व्यक्तिहरूलाई अबदेखि नबोलाउन निर्देशन दिएका छन्।
सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनलाई लक्षित गर्दै सधैँ कार्यक्रममा बोलाइरहने तर उनी कहिल्यै नआउने गरेको टिप्पणी गरे। उनले कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रमहरूमा सधैँ नाम राखिरहने तर उपस्थित नहुनेहरूको अभिलेख हेरेर आगामी कार्यक्रमहरूमा उनीहरूको नाम नराख्न निर्देशन दिए। जसको कुनै अर्थ र महत्व नै छैन, त्यस्ता व्यक्तिको नाम सधैँ झुण्ड्याइराख्नु राम्रो नभएको उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले भने, ‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्या हो। कोही कोही मान्छे हरेक फङ्सनमा राख्ने गर्दछौँ। कहिल्यै देखा पर्दैन। त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ। कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुण्ड्याइरहने नगरे पनि हुन्छ। आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने। यस्तो हुँदैन। अर्को पल्टसम्ममा सोधीखोजी गर्नुहोला। हेर्नुहोला रेकर्ड को एक पटक पनि आउँदैन। त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर आउने नभए नाम नराख्नुहोला। हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने।’
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा मनाउनुपर्ने र केवल सरकारी कार्यक्रमहरूमा मात्र सीमित राख्न नहुने धारणा पनि व्यक्त गरे।