arrow

आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन नसके राजनीति गर्नुको अर्थ छैन: बाबुराम भट्टराई [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
baburam-31.jpg

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना छोराछोरीलाई मुलुकमै भविष्य देखाउन नसके राजनीति गर्नुको कुनै अर्थ नरहने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित ‘सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२—०८३ को बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताए।

भट्टराईले नेपाललाई साँच्चिकै माया गर्ने हो भने यसको औचित्य, महत्व र गरिमा बुझाउनुपर्ने धारणा राखे। उनले नेपालभन्दा कमजोर देशहरूले पनि विकास र प्रगति गरेको उदाहरण दिँदै नेपाल पनि सबल बन्न सक्ने विश्वास व्यक्त गरे। युवाहरूलाई स्वदेशमै सपना देखाएर त्यसलाई साकार पार्ने सङ्कल्प गर्नुपर्नेमा उनले जोड दिए।

उनले भने, “म आग्रह गर्न चाहन्छु भने, पहिलो नेपाल भन्ने देशलाई साँच्चिकै माया गर्ने हो, यसको स्वाधीनताको रक्षा गर्ने हो, यसलाई सबैको साझा देश बनाउने हो, तपाईं हाम्रा छोराछोरी वाक्क दिक्क भएर देशमा टिकाउन गाह्रो भएको छ । आफ्नै छोराछोरीलाई सपना देखाउन सक्दैनौँ भने तपाईँ हामीले राजनीति गरेर, मन्त्री भएको के अर्थ रहन्छ ? यो देशलाई हामीले ठिक ढङ्गले बुझाउन सकेनौँ । एकातिर, यसको औचित्य, महत्व र गरीमा बुझाउन सकेनौँ । अर्कोतिर यो देश बन्छ, हामी भन्दा कमजोर देशहरूले विकास र प्रगति गरेका छन् । हाम्रो नि गर्न सकिन्छ भन्ने सपना देखाएर त्यसलाई बिपनामा परिणत गर्ने सङ्कल्प गरौँ । सङ्घीयता भनेको लोकतन्त्रको अभिन्न अङ्ग हो । सङ्घीयतालाई जति बलियो बनायो, उति नै लोकतन्त्र बलियो हुन्छ । देश समृद्ध बन्छ ।” 

सङ्घीयता लोकतन्त्रको अभिन्न अङ्ग भएको उल्लेख गर्दै भट्टराईले सङ्घीयता जति बलियो हुन्छ, लोकतन्त्र पनि त्यति नै बलियो भई देश समृद्ध बन्ने बताए। उनले सङ्घीयता र समावेशिता लोकतन्त्रका लागि उत्तिकै महत्वपूर्ण रहेको पनि जिकिर गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ