विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल
सांसद बस्नेतको टिप्पणी: सरकारको बजेट सिद्धान्त 'बनेपातिर हिँड्ने लक्ष्य, पाइला थानकोटतिर' [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
588
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारले ल्याएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा विरोधाभास र अलमल देखिएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आज (मंगलबार) बसेको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद बस्नेतले सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबीच तालमेल नभएको बताए।
सांसद बस्नेतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई हेर्दा सरकारले हिँड्न चाहेको गन्तव्य बनेपातिर भए पनि पाइला भने थानकोटतिर बढाइरहेको जस्तो अनुभूति भएको बताए। उनले विगतका कमजोरीको आत्मआलोचना र प्रतिबद्धतासहित प्रतिपक्ष प्रस्तुत हुन खोजेको उल्लेख गर्दै सरकारले पनि सोही आधारमा अगाडि बढ्नुपर्ने धारणा राखे। उनले नेपालको आर्थिक सिद्धान्तको रूपमा सहकारीसहितको मिश्रित अर्थतन्त्रलाई स्पष्ट रूपमा अंगीकार गर्नुपर्नेमा जोड दिए।
उनले भने, "बजेटका सिद्धान्त र प्राथमिकता विरोधाभास र अलमलमा परेको जस्तो छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले हिँड्न चाहिँ बनेपातिर लक्ष्य राखेको तर पाइला चाहिँ थानकोटतिर बढाइरहेको जस्तो अनुभूति हुने थुप्रै विषयवस्तुहरू छन्। म आशा गर्छु यहाँ हुने छलफल छलफलका लागि मात्र हुने छैन। म आशा गर्छु यसपटक पनि अर्थमन्त्रीज्यूले उत्तरलाई प्रश्न बनाइदिनुहुने छैन। विगतमा भएका त्रुटिहरूलाई सच्याउँदै अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो। हामी प्रतिपक्षी दल भएको कारण केही आत्म आलोचना र केही प्रतिबद्धतासहित प्रस्तुत भइरहेका छौँ। सरकार त्यही आधारमा अघि बढोस् म शुभकामना पनि व्यक्त गर्न चाहन्छु। व्यवस्था र अवस्थाबीचको विरोधाभास बेला बेला भइरहेको छ। अब सहकारीसहितको मिश्रित अर्थतन्त्र, अर्थव्यवस्था हाम्रो आर्थिक सिद्धान्त हो र हाम्रो बजेटको सिद्धान्त हो भन्ने कुरामा कहीँ कतै अल्मलिनुपर्ने आवश्यकता छैन।"
सांसद बस्नेतले आर्थिक नीतिमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने आजको प्रमुख आवश्यकता रहेको पनि बताए।