कानूनी शासन नभए व्यवस्था धरापमा - कानूनमन्त्री [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २० शनिबार
656
Shares
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले भ्रष्टाचारमुक्त देश र कानूनी शासनको पालना हुन नसके कुनै पनि व्यवस्था लामो समय अघि बढ्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको विधायिकी अन्तरसंवाद र कानूनको मापन विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले तीन तहको सरकार रहेको र तीन तहकै सरकारले आफ्नो दायित्वअनुसार अघि बढिरहेको बताए ।
उनले सङ्घले, प्रदेशले र स्थानीय तहले जनताले चाहेको अनुकूल शासन पद्धति चलेको छ की छैन ? कानून लागू भएको छ की छैन ? आवश्यकताअनुसार कानून संशोधन भएको छ की छैन भन्ने कुराको चाहना राख्नु आम जनताको सरोकारको विषय भएको बताए । उनले कानून जनताको लागि बनाइने र कानूनले सरकार पनि अनुशासनमा रहने जिकिर गरे । उनले संसदीय प्रणालीमाथि आक्रमण गर्ने, लोकतान्त्रिक व्यवस्थालाई कमजोर गर्ने भूमिका कसैले गर्न नहुने बताए । देशमा व्याप्त भ्रष्टाचारलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? भन्ने कुरा सबैको दायित्वभित्र पर्ने बताए ।
मन्त्री चौरसियाले भने, ‘तीन तहको सरकार हाम्रो देशमा छ । तीनै तहको सरकारले आफ्नो आफ्नो दायित्वअनुसार अगाडि बढ्दै छ । जहाँसम्म सङ्घले, प्रदेशले र स्थानीय तहले जनताले चाहेको अनुकूल शासन पद्धति चलेको छ की छैन ? कानून लागू भएको छ की छैन ? आवश्यकताअनुसार कानून संशोधन भएको छ की छैन, यो चाहना राख्नु आम जनताको सरोकारको विषय हो । कानून जनताको लागि बनाउने गर्दछौँ हामी । त्यो कानूनले सरकार पनि अनुशासनमा हुन्छ । प्रत्येक व्यक्तिले आफ्नो मौलिक हकको पालना गर्दागर्दै पनि कानूनी अनुशासनमा बस्नुपर्ने दायित्व हामी सबैको हुन्छ । कानूनले देशभित्र स्थिरता र अनुशासन कायम गर्ने गर्दछ । हामी कानूनको प्रयोग गर्दा अराजक भयौँ की, अराजकता बढ्यो की ? जुन संसदीय प्रणालीमा हामी छौँ, त्यही संसदीय प्रणालीमाथि आक्रमण गर्ने, लोकतान्त्रिक व्यवस्थालाई कमजोर गर्ने, भूमिका हामी कसैले पनि निर्वाह गर्नु हुँदैन । देशमा व्याप्त भ्रष्टाचारलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, यो सबैको दायित्व हो । भ्रष्टाचारमुक्त देश बनाउन र कानूनी शासनको पालना गर्न नसके कुनै पनि व्यवस्था लामो जान सक्दैन ।’