घरभित्र बिरुवा राखी सजाउने कार्यलाई आजकल “घरमा प्रकृति भित्र्याइएको” संज्ञा दिन थालिएको छ । विश्वभर घरभित्र विभिन्न जातका बिरुवाहरु गमलामा रोपी सजाउने परम्परा रहेको छ । घरभित्र सजाइने विभिन्न बिरुवामध्ये एउटा आकर्षक बिरुवा हो “मनिप्लान्ट” । यसलाई अंग्रेजीमा पोटोस भनिन्छ । यसको वैज्ञानिक नाम एपिप्रेमनम एक्रियम हो । कुनै समय यसलाई डेभिल्स ईभी नामले पनि पुकारिन्थ्यो ।
यो बिरुवा उत्तर अमेरिकामा घरेलु बिरुवाको रुपमा प्रसिद्ध छ । यो बिरुवा प्रायः विश्वमा घरभित्रै रोपिँदै आएको छ । यो बिरुवा बाहिर जमीनमा पनि रोप्न सकिन्छ । बाहिर रोप्दा बोट र यसका पातहरु ठूल्ठूला हुने भई बिरुवाको व्यवस्थापन गर्न गाह्रो हुने हुँदा प्रायः घरभित्रै गमलामा रोपी व्यवस्थापन गर्ने गरिएको छ । यसलाई हप्ताको एक वा १५ दिनमा न्यूनतम एक पटक पानी दिनुपर्दछ ।
विकसित मुलकहरुमा पोथोज रोपेको गमलामै माटोकोे पानी नाप्ने यन्त्र जडान गर्ने प्रचलन छ, जसबाट यसलाई पानी आवश्यक पर्ने सूचनाका आधारमा पानी दिने गरिएको पाइन्छ ।
नेपालमा यसप्रतिको आकर्षणः
नेपालमा मनिप्लाण्ट रोप्ने चलन धेरै अघिदेखिको हो । नेपालमा यो बिरुवा कसैले घर बाहिर र कसैले घरभित्र रोप्ने प्रचलन छ । नेपालका तराई भेगहरुमा त जहाँतहीँ रुखहरुमा उचालिएको देखिन्छ । बाहिर रोप्दा यसका डाँठ र पातहरु ठूलठूला हुन्छन् । साथै नेपालमा घरघरमा इण्डोर प्लान्टको रुपमा गमलामा रोप्ने प्रचलन छ । यो बिरुवा हुर्काएर जसले बढी झ्याङ र डोरीको सहायतामा टाढा टाढा पुर्याउन सक्यो, त्यस घरमा लक्ष्मीले बास गर्छिन् भन्ने प्रबल मान्यता रहेको पाइन्छ ।
यसै मान्यताले पनि नेपालमा प्रत्येक घरले मनिप्लाण्ट रोप्नुपर्छ भन्ने संस्कृतिको विकास भएको पाइन्छ । नेपालमा प्रायः हरेकको घरमा यी बिरुवा देख्न सकिन्छ । आजकाल नेपालको बाइरोडको चाहे चिया पसल होस्, देशभरका अन्य खुद्रा पसल वा मिनी मार्ट वा सुपरमार्केटहरु, हजाम पसल वा प्रत्येकका घरहरुमा समेत यो बिरुवा सजावटका रुपमा राखिएको पाइन्छ । यो बिरुवाको सजावटका कारण सोध्दा उनीहरु लक्ष्मीमाता खुशी पार्न वा धन प्राप्ती हुने मान्यताले राखेको निर्धक्क बताउ‘छन् ।
पंक्तिकार बिरुवा संकलन कार्यमा चाख राख्ने भएकोले नेपाल र विश्वमा चलनचल्तीमा रहेका मनिप्लाण्ट बिरुवा वारे जानकारी दिन यो एउटा सानो प्रयास गरेको छ ।
विश्वकै प्रिय घरेलु बिरुवाः
चाहे वनस्पति क्षेत्रमा चाखराख्ने कुनै नयॉ सिकारु होस् या अनुभवी व्यक्तिका लागि यो बिरुवाले विश्वका कुनै पनि मुलुकका वासिन्दाको मन जित्न सफल भएको पाइन्छ । यो बिरुवा लचिलो, नरमपन र स्याहारसुसारमा सजिलो एवं त्यति धेरै मेहनत गर्न नपर्ने हुँदा घरको भित्री बिरुवा वा इण्डोर प्लान्टको रुपमा आन्तरिक सजावटका लागि यो निकै चित्ताकर्षक देखिएको छ । यो बिरुवालाई घरको कुनै पनि खाली कुनो वा स्थानमा राख्न सकिने र यस बिरुवामा देखिने भिन्नाभिन्नै बुट्टाले राम्रो आकर्षण प्रदान गर्ने भएकाले यसप्रति मान्छेको आकर्षण विश्वमा दिनपरदिन बढेको पाइन्छ ।
साथै अर्को सवभन्दा महत्वपूर्ण कुरा त यस बिरुवाले हावा शुद्धिकरण गर्छ । घरको बैठक, पूजा कोठा, भान्सा वा सुत्ने कोठामा यस बिरुवालाई सजाउन सकिन्छ । यसका हरियो पातहरुमा देखिने छिर्के, मिर्के पहे“लो र सेता रंगका साथै चाँदी रंगको संयोजनले मन प्रफुल्ल, आनन्दित, आल्हाद्वित एवं जोसुकैलाई शान्ति प्रदान गर्दछ । यसका पात र रंगहरुमा पाइने संयोजनका वनोटले नै यस बिरुवाका प्रकार पत्ता लगाउन सकिन्छ ।
नेपालमा तल उल्लेख गरिएका यसका विभिन्न जातका पोथोजहरु सवै नेपालमा उपलब्ध त छैनन् । चार प्रकारका जति चलनचल्तीमा छन् । यी बिरुवाको स्याहार संभार कसरी गर्ने भन्ने वारे तल विस्तृतमा चर्चा गरिएको छ । प्रत्येक चार महिनाको अन्तरमा यी बिरुवामा रसायनिक झोल मल स्प्रे गर्नुपर्दछ ।
१. गोल्डेन पोथोजः यस बिरुवामा पानको पातको बुट्टा आकारको हरियो पातमा सुनौला र सेतो छिर्के मिर्के रंगको संयोजन पाइन्छ । यस बिरुवालाई छाया“दार प्रकाश आवश्यक पर्दछ । कम उज्यालो भए पनि बिरुवालाई कुनै असर पर्दैन । विश्व लगायत नेपालमा यो जातको बिरुवा प्रचलनमा छन् ।
२. मार्वल क्विन पोथोजः हरियो छिर्के मिर्के पातमा क्रिम जस्तै सेतो रंग भएको यो लहरे बिरुवा १० फिट उचाईसम्म फैलिने क्षमता राख्दछ । पात मध्यम आकारको हुन्छ । कमदेखि बढी प्रकाश भएको स्थानमा पनि यो बिरुवा हुर्काउन सकिन्छ । नेपालमा यो बिरुवा प्रचलनमा छ ।
३. जेड पोथोजः यो पूरै हरियो पात हुने बिरुवा हो । यसको पात बाक्लो र चिल्लो देखिन्छ । यसलाई धेरै स्याहार संभारको आवश्यकता पर्दैन साथै हावा शुद्धिकरण कार्यमा सहयोग पुग्नुका साथै विभिन्न प्रकाशमा यो हुर्कन्छ । नेपालमा प्रायः धेरै अघिदेखि मनिप्लाण्ट भनेर अधिकांशले रोपेको बिरुवा यही हो ।
४. निओन पोथोजः मुटुको आकारको पात हुने यो प्रजातिको बिरुवाको पात बाक्लो तर कागज जस्तै हल्का र पात मध्यम आकारको
हुन्छ । यसको पातमा चहकिलो हरियो—पहेंलो रंगको संयोजन देख्न सकिन्छ । यो बिरुवाको लागि चहकिलो घाम वा उज्यालो प्रकाश भने उपयुक्त हुन्छ ।
५. ड्रागन टेल पोथोजः यो पोथोज हेर्दै पृथक, आकर्षक र अद्वितीय देखिन्छ । गोलो पात तीर आकारमा फैलिएको पाइन्छ । १० फिटसम्म लामो हुने यस बिरुवा छिप्पिएपछि पातको किनारामा मोन्स्टेरा प्लान्टको पातजस्तै काटिएको र ससाना प्वालहरु देखिन थाल्छन् । यसको पात सानोदेखि ठूलोसम्म हुन्छ । यो जात पनि नेपालमा चलनचल्तीमा छन् ।
६. सिबु ब्लु पोथोजः हरियो निलो चाँदीको जस्तै चमक देखिने पात भएको यसको बोट सिधै सूर्यको किरण वा प्रत्यक्ष प्रकाशबाट बचाउन सकिएन भने यसको पात डढ्न थाल्दछ । यसको वर्ण र रंग बचाई राख्न यसलाई आवश्यक पर्ने पानीमात्र दिनुपर्दछ ।
७. बाल्टिक व्लू पोथोजः यो पनि हल्का निलो रङ्गमा हुन्छ । यो पनि छिप्पिएपछि मोन्स्टेराको जस्तै पातहरु हल्का काटिएको र ससाना प्वालहरु देखिन्छन् । यो बिरुवा सुख्खामा पनि हुर्कन्छ तापनि कहिलेकाहिँ पानी दिँदा फरक पर्दैन । यसको पातको रङ्ग गाढा हरियो—निलो, पात मध्यम आकारको र मध्यमदेखि चहकिलो अप्रत्यक्ष प्रकाश दुवै आवश्यक हुन्छ ।
८. ग्लोबल ग्रीन पोथोजः यो नितान्त नयाँ र दुर्लभ मानिन्छ । गाढा हरियो पातमा पहेँलो—हरियो रंगको छिरमिरे संयोजन नै यसको विशेषता हो । यसको बोट पनि लगभग १० फिटसम्म फैलिन्छ । यसको आकारलाई ठीकसम्म कायम गर्न यसलाई समय समयमा काँटछाँट गरिरहनु पर्दछ । यसको पातको आकार सानो हुन्छ भने प्रकाश मध्यमदेखि उच्च र अप्रत्यक्ष प्रकाश यसलाई फाप्छ ।
९. एन ज्वाई पोथोजः चहकिलो अप्रत्यक्ष प्रकाश वा मध्यम प्रकाश नै एन ज्वाई पोथोजको रंग संयोजन लागि उपयुक्त मानिन्छ । यस प्रजातिको बिरुवा हुर्काउन ६५ देखि ८५ डिग्री फरेनहाइट अर्थात् १८ देखि २९ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ । यसको बोटले शीत ठ्याम्मै सहनै सक्तैन ।
१०. मञ्जुला पोथोजः आश्चर्यजनक मानिने यस बिरुवाको पातमा हरियो तथा सेतो रंगहरुको संयोजन फिँजिएका हुन्छन् । यो पनि पानको पातको आकारकै हुन्छ । बसन्त र हिँउद ऋतुमा यस बिरुवालाई महिनाको एकपल्ट झोल मल हाल्ने गरिन्छ । यस बिरुवाको क्रिमी सेतो पातमा हरियो रङ्गको संयोजन रहन्छ । पातको आकार मध्यम आकारको हुन्छ भने चहकिलो अप्रत्यक्ष प्रकाश यस बिरुवाका लागि अति उत्तम मानिन्छ ।
११. सटिन पोथोजः मुटुको आकारको हरियो पातहरुमा चाँदी र चम्किरहेको जस्तो देखिने यस बिरुवालाई अन्य पोथोजहरुको स्याहार संभार नजिकैबाट हुर्किने गरेको पाइएको छ । यदि गमलाको माटो सुख्खा भएमा यसको २–३ इन्च पानीले भिजाइदिने गर्नु पर्दछ । पातको आकार सानो हुन्छ भने हल्कादेखि चहकिलो घाममा यो फष्टाउँछ ।
१२. जेसेनिया पोथोजः यसको छिरमिरे रंगको संयोजन बचाइराख्न मध्यम तथा हल्का अप्रत्यक्ष प्रकाश आवश्यक पर्छ । हिँउद ऋतुमा यस बिरुवामा मल हाल्नु हुँदैन । मध्यम हरियो पातमा पहेँलो—हरियो रंगको छिरबिरे संयोजन नै यस बिरुवाको विशेषता हो ।
१३. स्नो क्विन पोथोजः यो पोथोजको एक आकर्षक प्रकारभित्र पर्दछ । हरियो र सेतो रंगको संयोजननै यस बिरुवाको विशेषता
मानिन्छ । यसको पातमा हल्कामात्र हरियो रंग देखिन्छ ।
१४. ब्राजिल पोथोजः पानको हरियो रंग आकारकोे हरियो पातमा धनु बाँणको जस्तो चुच्चोसँगै लाम्चो सेतो रंगको एउटामात्र सेतो टीका लगाएको जस्तो देखिने बिरुवा नै ब्रजिल पोथोज हो । यसलाई पनि छाँयादार प्रकाश आवश्यक पर्दछ । पानी आवश्यकता मात्रामा १० देखि १५ दिनको बीचमा एकपल्ट पानी दिनुपर्दछ ।
नेपालमा कसरी प्राप्त गर्नेः
यसका नयाँ जातका बिरुवाहरु काठमाडौं झिकाउँदा विदेशका बिरुवा निर्यात
गर्ने नर्सरी वा कम्पनीहरुले प्लाण्ट क्वारेन्टाइटको प्रमाणपत्र उपलव्ध गराउनुपर्ने हुन्छ । यस्ता बिरुवाहरु विदेशबाट नेपाली नर्सरीहरुले वा कसैकसैले व्यक्तिगत रुपमै अनलाइनबाट भुक्तानी गरी नेपाल भित्र्याउने गरेका छन् भने व्यक्तिगत रुपमै कसैकसैले विदेशबाट फर्किने क्रममा आफ्नो साथमै ल्याउने गरेको पनि पाइन्छ ।
विदेशबाट ल्याइएका यस्ता बिरुवाहरु प्रायः टिस्युकल्चर प्रविधिबाट विकसित गरिएको हुँदा तिनीहरु नेपालका स्थानीय हावापानीमा मिल्न कठिन पनि हुने गरेको छ । (लेखक विष्ट मिडिया प्वाइन्टका सञ्चालक हुन् । हाल उनी वनस्पति विधामा कलम चलाउँछन्) ।