arrow

लोकतन्त्र बचाउन प्रवासी नेपालीको भूमिका महत्त्वपूर्ण - देउवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
deuba-18.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सिकेका ज्ञान र सीपलाई स्वदेशमा प्रयोग गरी देश विकासमा योगदान गर्न प्रवासी नेपालीहरूलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसको जनसम्पर्क विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुक बाहिर रहेर पनि देश र जनताको चासो राखेको भन्दै विभिन्न कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरूको प्रशंसा गरे । 

उनले विश्वको जुनसुकै कुनामा रहे पनि नेपालीहरूप्रति सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले विदेशमा रहेका नेपालीलाई नेपालको वा सम्बन्धित देशको कानूनले पारेको समस्याका बारेमा नयाँ कानून बनाएर समाधान गर्न प्रयास गर्ने बताए । उनले विदेशमा रहेर नेपाली कांग्रेससँग आबद्ध नेपालीहरूलाई पार्टीको महाधिवेशन लगायतका कार्यक्रमहरूमा प्रतिनिधित्व गराएको बताए । अमेरिका तथा भारतमा रहेका प्रवासी नेपालीलाई पार्टीको केन्द्रीय सदस्यमा प्रतिनिधित्व गराएको भन्दै युरोपलगायत कतिपय छुटेका देशबाट पनि पार्टीमा प्रतिनिधित्व गराउने उनको भनाइ छ ।

उनले भने, ‘नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको सङ्गठनको एक अभिन्न अङ्गको रूपमा रहेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेशाको सिलसिलामा मुलुक बाहिर रहेर पनि देश र जनताको बारेमा चिन्ता व्यक्त गरिरहनुभएको छ । यो वर्गले हाम्रो समाजको जाने बुझेका शक्ति र उमेरको प्रतिनिधित्व गरेको छ । तपाईंहरुलाई पार्टीको गतिविधिमा समान रुपले प्रतिनिधित्व गराउँदै लैजाने अभिप्रायले जनसम्पर्क समितिको गठनलाई उत्तिकै महत्त्व दिएका छौँ जति देशमा पार्टी सङ्गठनको निर्माणमा दिएका छौँ । पार्टीको महाधिवेशन, महासमितिमा प्रतिनिधित्वको अलावा, समान नागरिक अधिकार दिने प्रयास गरिरहेका छौं । तपाईँहरूले विदेशमा हासिल गरेको ज्ञान सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक र सामाजिक विकास गराउन के ककस्ता नीतिगत परिवर्तन गर्नुपर्छ । हामीलाई निर्धक्क भन्नुहोस् हामी राष्ट्रिय सहमति गराएरै पारित गराउँछौँ । विदेशमा रहेका नेपालीलाई सक्रिय बनाएर आइपरेका समस्या समाधान गर्ने प्रवासमा रहेका नेपालीहरूलाई अध्ययन रोजगारीमा रहेकालाई सघाउने राज्यका निकायहरूलाई परिचालन गराउने सबै क्रियाशील रहनेछु । विश्वको जुनसुकै मुलुकमा भए पनि नेपालीप्रति सम्मान आदर भाव प्रकट हुने अवस्था तपाईँहरूले सिर्जना गर्नुहुनेमा म विश्वस्त छु । लोकतन्त्रमा लोकतन्त्रलाई बचाउन तपाईँहरू जस्ता शिक्षित अनुभवीले परिस्थिति मिलाएर नेपाली कांग्रेसलाई पवित्र मन वचन र कर्मले निरन्तर सघाउनुपर्ने खाँचो छ । विदेशमा रहेका नेपालीहरूको प्रतिनिधित्व अमेरिका र भारतले पाएको छ हाम्रो केन्द्रीय सदस्यको रूपमा तर युरोप छुटेको छ । एसिया पनि छुटेको छ । आउँदो पार्टीको महाधिवेशनमा विधानलाई संशोधन गरेर तपाईँहरूको प्रतिनिधित्व सुनिश्चित गर्छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ