शिक्षक आन्दोलनमा सरकारले दमन गरेको माओवादीको आरोप [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
835
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको भर्त्सना गरेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद जनार्दन शर्माले शिक्षकहरूका माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरिरहेको आरोप लगाए ।
सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ ? उनको प्रश्न छ । उनले पुराना ऐन र कानूनहरुको कारण संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा पुगेको उल्लेख गरे । वर्तमान सरकारले शिक्षकका मागहरू सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नगर्ने र धोका दिने काम गरिरहेको आरोप लगाए ।
उनले भने, ‘शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षक आन्दोलनमा सरकारले दमन गर्यो । आन्दोलन गरिरहेका शिक्षकहरूमाथि पानीको फोहोरा हान्दा दर्जनौँ शिक्षकहरू घाइते हुनुभएको छ । र आज अस्पतालमा उपचार गरिरहनु भएको छ । सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहनुभएको छ ? यसको म भर्त्सना गर्न चाहन्छु । संविधान निर्माणसँगै हामीले नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्दथ्यो । आजको देशको आवश्यकता र समयलाई मध्यनजर गर्दै नयाँ शिक्षा ऐन बनाउनुपर्थ्यो । पुराना ऐन र कानूनहरुकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा अड्चनहरू भइरहेको छ । यस्तो बेलामा शिक्षकका मागहरू सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नगर्ने, धोका दिने काम भइरहेको छ ।’
शिक्षकहरूका जायज मागहरू तत्काल सम्बोधन गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।