अर्थतन्त्र सुधारका प्रयासहरू सकारात्मक छन् तर यतिले मात्रै पुग्दैन - अध्यक्ष ढकाल [भिडियो]
जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरू सिर्जना गर्न सक्दैनौँ, निराशालाई आशामा बदल्न सकिँदैन
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
708
Shares
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयास सकारात्मक रहे पनि युवाहरूको चाहना पूरा गर्न पर्याप्त नरहेको बताएका छन् । बिहीबार महासङ्घको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू प्रतिकुलतामा अनुकूलता खोज्ने उद्यमी रहेको जिकिर गर्दै देशमै आशा जगाउनका लागि काम गरिरहेको बताए ।
उनले देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरू सिर्जना गर्न नसकेसम्म निराशालाई आशामा बदल्न नसकिने बताए । उनले रोजगारी प्रदान गर्न सरकारको सीमितता रहेको भन्दै अहिले करिब पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको उल्लेख गरे । निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको भए पनि हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिन सक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि नरहेको जिकिर गरे ।
अध्यक्ष ढकालले भने, ‘व्यक्तिगत रूपमा भन्ने हो भने म प्रतिकुलतामा अनुकूलता खोज्ने उद्यमी हुँ । म निराशा हैन आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर हाम्रा युवाहरूको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरू सिर्जना गर्न सक्दैनौ, निराशालाई आशामा बदल्न सकिँदैन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो । हामीलाई थाहा छ रोजगारी प्रदान गर्न सरकारको सीमितता छ । अहिले करिब पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको छ । निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको छ । तर हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिन सक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि छैन । त्यस कारण युवाहरु जुन अर्थतन्त्रले रोजगारी दिन सक्छ त्यही अर्थतन्त्रमा काम खोज्न जाने गरेका हुन् । नेपालीलाई काम दिने यी अर्थतन्त्रहरू र नेपालको अवस्था केही समय पहिले उस्तै थियो । सन् १९६० ताका नेपालको प्रतिव्यक्ति आय ५० र दक्षिण कोरियाको करिब सय डलर थियो । अहिले कोरियाको प्रतिव्यक्ति आय ४० हजार डलर हाराहारी छ भने नेपालको १४ सय डलर । यस अवधिमा कोरियाको आम्दानी चार सय गुणा बढेको देखिन्छ । नेपालको पनि २८ गुणा बढ्यो । तर ४० हजारको क्रय क्षमता र १४ सयको क्रय क्षमता तुलना हुँदैन । हामीकहाँ प्रगति भयो तर जति हुनुपर्ने थियो हुन सकेन ।’
अध्यक्ष ढकालले अर्थतन्त्र सुधार गर्नका लागि निजी क्षेत्रलाई निर्बाध काम गर्न दिनुपर्ने उल्लेख गरे । उनले वर्तमान सरकारको मुख्य एजेन्डा नै समृद्ध नेपाल, सुखी नेपाली भएको उल्लेख गर्दै मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु रहेको जिकिर गरे । उनले त्यसका लागि पैसा, बुद्धि, विवेक र सीपको लगानी जरुरी हुने उल्लेख गरे ।
अध्यक्ष ढकालले भने, ‘अन्य दुई सूचकका आधारमा हामी अगाडि बढेका हौ । फेरि पछाडि नफर्किने हो भने निजी क्षेत्रलाई निर्बाध काम गर्न दिनुपर्छ । अब म बुँदागत रूपमा यहाँहरूलाई हामीले के गर्न सक्छौँ ? त्यो कसरी सम्भव छ ? र सरकार लगायतका सरोकारवालाहरूको कस्तो सहयोग चाहिन्छ भन्ने विषयमा कुरा गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यू र वर्तमान सरकारको मुख्य एजेन्डा नै समृद्ध नेपाल, सुखी नेपाली हो । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो । त्यसका लागि पैसा, बुद्धि, विवेक र सीपको लगानी गर्नुपर्यो । त्यो भन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ । जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ । पैसा लगानी गर्ने मुख्य दुई निकाय हुन्छन्, एउटा सरकार र दोस्रो निजी क्षेत्र । सरकारले लगानीका लागि पैसा मुख्यतया राजश्वबाट नै ल्याउने हो । राजश्व उद्यमी, व्यवसायी र सर्वसाधारणबाट उठ्छ । सर्वसाधारणको आम्दानीको मुख्य स्रोत पनि निजी क्षेत्र हो किनभने अधिकांश रोजगारी निजी क्षेत्रले नै सिर्जना गरेको हुन्छ ।’
अध्यक्ष ढकालले अहिले अवस्था असहज छ तर सुधार असम्भव नरहेको बताए । अर्थतन्त्र, विकास र समृद्धि राजनीतिक दलहरूको साझा धारणा बनाउन सक्नुपर्ने बताए । निजी क्षेत्रको उद्यम व्यवसाय र सर्वसाधारणको जीविकामा प्रतिकुल असर पर्ने काम राजनीतिक नेतृत्वबाट हुनु नहुने बताए । अब आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताए ।