कालिकोटदेखि मुगुसम्म अप्टिकल फाइबर विस्तार, उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालन
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
959
Shares
काठमाडौँ। नेपाल टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पहिलो पटक अल-डाइलेक्ट्रिक सेल्फ-सपोर्टिङ्ग (एडीएसएस) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ।
नेपाल टेलिकमले दुर्गम भेगमा सर्वसुलभ दूरसञ्चार सेवा विस्तार र स्तरोन्नतिको लक्ष्य सहित कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्यान्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो परियोजना सम्पन्न गरेको हो। यस फाइबर विस्तारले भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिका लागि समेत बलियो आधार निर्माण गरेको छ।
यस क्रममा, माइक्रोवेभ रेडियो लिङ्क प्रविधिमार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका इन्टरनेट (एफटीटीएच) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरूलाई नयाँ अप्टिकल फाइबरसँग जोडिएको छ। साथै, एनटीटीभी ब्रान्डको टेलिभिजन सेवा पनि २०८१ साल चैत ८ गतेदेखि अप्टिकल फाइबरमार्फत सञ्चालनमा ल्याइएको छ।
सेवा विस्तारसँगै स्थानीय सेवाग्राहीहरूले दूरसञ्चार सेवाको गुणस्तर र क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभव गर्नेछन्। साथै, दूरसञ्चार सेवाका लागि आवश्यक वैकल्पिक ट्रान्समिसन मार्ग स्थापना भई अब अटुट सेवा प्रवाह सुनिश्चित हुनेछ।
नेपाल टेलिकमले नेपालको भौगोलिक चुनौतीलाई आत्मसात् गर्दै हरेक नागरिकलाई आधुनिक दूरसञ्चार सेवासँग जोड्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।