पूर्वराजाले शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै सांसदको आपत्ति [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
876
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ मा सार्वजनिक गरेको भिडियो सन्देशमा ‘श्री ५ महाराजाधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले पूर्वराजाले नेपाली झण्डाको अपमान गरेर संविधान मिच्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले संविधान विरोधी कदमहरू रोक्न समेत सरकारको ध्यानाकर्षण गराए । उनले २०६५ सालमै शाही निशान छाप हटाएर नेपालको झन्डा राखिएको र संविधानमा समेत श्री ५ महाराजाधिराज भन्ने शब्द नरहेको भन्दै यस्तो गर्न नदिन सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘पूर्व राजा ज्ञानेन्द्रले फागुन ६ गते सार्वजनिक गरेको भिडियो सन्देशमा श्री ५ महाराजाधिराज भनेर उल्लेख गरिएको र शाही निशान छाप प्रयोग गरेको देखियो । यो शाही निशाना झन्डा २०६५ साल जेष्ठ १७ गते हटाएर त्यहाँ राष्ट्रिय झन्डा राखिएको थियो र नेपालको संविधानमा कहीँ पनि श्री ५ महाराजाधिराज भन्ने उल्लेख छैन । त्यसकारण यस्तो सन्देशमा श्री पाँच महाराजाधिराज भनेर राख्ने र शाही निशाना झन्डा राख्नेप्रति घोर आपत्ति छ र त्यस्ता काम गरेर संविधान नमिच्नको लागि आग्रह गर्दछु । ’