आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलता जोड दिनुपर्ने महासङ्घ अध्यक्ष ढकालको धारणा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
459
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागी उद्यमशीलताको विकास गर्नु पर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा सौन्दर्यविद् कमला श्रेष्ठको सौन्दर्य–क्रान्ति आत्मकथाको मङ्गलवार काठमाडौँमा विमोचन गर्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन्।
उनले समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निःशर्त सम्मान हुने वातावरण आवश्यक रहेको समेत बताए।
उनले उद्यमशीलताले मानिसमा आत्मसम्मान र आत्मनिर्भरता बढाउनुका साथै देश विकासमा लागि पनि योगदान दिने उल्लेख गर्दै व्यवसायी श्रेष्ठले उद्यमशीलता विकासका लागि अनुकरणीय काम गरेको बताए। “हाम्रो समाज शृङ्गार र सौन्दर्यका कुरा उठाउँदा अपहेलित हुने तथा सौन्दर्य हुनेखानेहरूको लागि हो भन्ने दृष्टिकोण राख्ने समाज हो।
सौन्दयकलालाई पेसा व्यवसाय मात्र नभई, स्वास्थ्यको अभिन्न अङ्गमा रूपमा विकास गर्दै शैक्षिक पाठ्यक्रममा समेत समावेश गर्न कमला श्रेष्ठका ठूलो योगदान रहेको छ। ” उनले भने।
अठोट सहितको निरन्तरताले सफलता दिन्छ भन्ने एउटा उदाहरणका रूपमा व्यवसायी कमला श्रेष्ठलाई लिन सकिने बताउँदै अध्यक्ष ढकालले आफ्नो व्यवसायको माध्यमबाट हजारौँलाई सीप हस्तान्तरण गर्दै रोजगारी सिर्जना गर्नु आफैमा चुनौतीपूर्ण र महत्त्वपूर्ण कार्य भएको बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष भवानी राणाले महिला उद्यमशीलता तथा महिला सशक्तीकरणका लागि श्रेष्ठको ठूलो योगदान रहेको बताए।
महासङ्घ उपाध्यक्ष द्वय हेमराज ढकाल ,ज्योस्ना श्रेष्ठ र महासङ्घका पूर्व उपाध्यक्ष भास्कर राज राजकर्णिकारले उनको पुस्तक नयाँ केही गर्नेहरूका लागि प्रेरणाको स्रोत भएको बताए।
पद्मकन्या विद्याश्रमका प्राचार्य रिता तिवारीले उनीसङको सहकार्यबाट विद्यालयमा सौन्दर्य कला विषय अध्यापन भइरहेको जानकारी दिइन्।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै पुस्तक लेखिका कमला श्रेष्ठले यो पुस्तकबाट उद्यम गर्न चाहने तथा स्वरोजगार बन्न चाहनेका लागि पनि मार्गदर्शन गर्ने अपेक्षा राखेको बताइन्।
उनले यो आफ्नो आत्मकथा भन्दा पनि उद्यमशीलताको कथा भएको बताइन्।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा महिला उद्दाम समितिका सभापति समेत रहनु भएकी सौन्दर्यविद् श्रेष्ठका आत्मकथामा ६ वटा खण्ड र ६५ वटा विभिन्न शीर्षकमा लेखहरू समावेश रहेको लेखन कुन्जका सञ्चालक कमल ढकालले जानकारी दिए।