arrow

युरोपियन युनियनका राजदूतको ऊर्जामन्त्री खड्कासँग शिष्टाचार भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
dipak-khadka-eu-ambassador.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपेली युनियनकी राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेकी छिन् ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा युरोपियन युनियनले गरेको सहयोगका विविध विषयमा छलफल भएको थियो । 

युरोपियन युनियनले सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपालको दिगो विकासका लागि साझेदार निकायका रुपमा सहयोग गर्दै आएको छ ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा, जलस्रोत र पर्यटन क्षेत्रको विकासका युरोपियन युनियनले गरेको सहयोगप्रति धन्यवाद दिएको ऊर्जामन्त्री खड्काको सचिवालयले जनाएको छ । उनले आगामी दिनमा स्वच्छ ऊर्जा, जलवायु परिवर्तन तथा आर्थिक स्थायित्वको क्षेत्रमा गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न दातृ निकायहरुको महत्वपूर्ण साथ र सहयोगको अपेक्षा गरे । उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक संसद्मा पेस भइसकेकाले चाँडो पारित हुने बताए । 

नेपालको ऊर्जा क्षेत्रमा युरोपियन युनियन प्रमुख साझेदार रहँदै आएको र नविकरणीय ऊर्जा पहुँच, ग्रामीण विद्युतीकरण र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा इयुको सहयोगप्रति मन्त्री खड्काले आभार व्यक्त गरे । 

भेटमा राजदूत लोरेन्जोले जलवायु परिवर्तन र वैकल्पिक ऊर्जाका क्षेत्रमा नेपालको विकासका लागि थप सहकार्य गर्न युरोपियन युनियन प्रतिबद्ध रहेको बताए । उनले नेपालले छिमेकी मुलुकसँग गरेको ऊर्जा सहकार्यको प्रशंसासमेत गरे । 

राजदूत लोरेन्जोले नेपालको ऊर्जा क्षेत्रको विकासमा ईयुले थप ऋण तथा अनुदान सहायता उपलब्ध गराउने बताए । अप्पर अरुण, दूधकोशी जलाशययुक्त आयोजनालगायतमा ईयू लगानी गर्न इच्छुक रहेको राजदूत लोरेन्जोको भनाइ थियो । भेटमा ईयूको लगानीमा निर्माण भएको चिलिमे–त्रिशुली प्रसारण लाइन उद्घाटन गर्ने सम्बन्धमासमेत छलफल भएको जनाइएको छ ।

भेटमा मन्त्री खड्कासँगै ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी, मन्त्रालयका सहसचिव जीवछ मण्डल लगायतको सहभागीता रहेको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ