परियोजना कोशी प्रदेशकै लागि मेघा प्रोजेक्ट, अहिले विरोध गर्दा उहाँहरूलाई पछि गएर पछुतो हुनसक्छ
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
527
Shares
काठमाडौँ । काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्याउने कुराले लगानीकर्ताहरूको मनोबल घटाएको बताएका छन् ।
विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिरहेका बेलामा आन्तरिक लगानीकर्ताहरूलाई लगानी गर्न र विकास निर्माणका काम गर्नबाट रोक्नु भनेको लगानीकर्ताहरूको मनोबल घटाउनु भएको बताए ।
उनले पाथीभरा मन्दिरमा सहज दर्शनका लागि र पर्यटन प्रवर्द्धनका लागि बनाउन लागिएको पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पुर्याउनु गलत भएको बताए । उनले यस्ता गतिविधिले स्वदेशमै रोजगारी सिर्जना हुने कुरामा पनि समस्या हुने जिकिर गरे ।
उनले बालबालिका, वृद्ध वृद्धालाई सहज पहुँचका साथ दर्शन गर्नका लागि बनाउन लागिएको केबलकारले जिल्लावासीलाई घरमै बसेर रोजगारी गर्न सक्ने अवस्था सिर्जना हुने बताए ।
यस परियोजना कोशी प्रदेशकै लागि मेघा प्रोजेक्ट बन्ने दाबी गरे । उनले केही राजनीतिक दल व्यक्तिहरूले गर्दा केबलकार निर्माणमा बाधा पुर्याइरहेको बताए । यस्ता गतिविधिले विदेशी र स्वदेशी लगानीकर्तालाई लगानी गर्न निरुत्साहित गरिरहेको उल्लेख गरे ।
उनले भने, ‘हामी आफैँले सञ्चालन गरेको एउटा प्रोजेक्ट जस्तो पाथीभराकै कुरा गरौँ । जहाँ आम पब्लिकलाई सर्भिस दिने, एउटा बुढाबुढी, बच्चाहरूलाई ट्रान्सपोर्टको माध्यम बनाउने र टुरिजममा जान खोजेको पर्यटकलाई त्यहाँ पुग्नका लागि सहज वातावरण बाउने उद्देश्यले पाथीभरा केबलकार बनाउन लागिएको हो । त्यसलाई अलिकति पोल्टिकल हिसाबमा र कहीँ कहीँ धार्मिक हिसाबमा र कहीँ कहीँ फरक हिसाबले पनि व्याख्या गरिएको छ । वास्तवमा यो एउटा ट्रन्सपोटेशनको एउटा माध्यमको रूपमा भएको चिजलाई विभिन्न बहानामा फरक हिसाबले व्याख्या गरिएको छ ।'
उनले अगाडि भने, 'म एउटा म एउटा लगानीकर्ता र एउटा छाता सङ्गठनको अध्यक्षको हिसाबले पनि त्यो अलि दुःखद हो । जहाँ रोजगारी सिर्जना गरिन्छ, जहाँ पूर्वाधार बनाइन्छ, जहाँ आम सर्वसाधारणलाई सुविधा दिइन्छ र पर्यटनको प्रवर्द्धन गरेर अघि बढाउने कुरालाई पनि गलत हिसाबले व्याख्या गरेर राजनीतिक दल र धार्मिक रूपमा गरिएको छ । यो दुःखद हो । आम सर्वसाधारणको फाइदाका लागि हामीले गरेका हौँ । त्यसको विरोधमा लागिएको छ । ४५-५० डिग्रीको तापक्रममा त्यो जिल्लाका मान्छेहरू विदेशमा काम गर्न बाध्य भएको अवस्था छ । त्यसै गरेर मान्छे चाहेर पनि जान नसकेको अवस्था छ ।'
ढकालले भने, 'त्यो आयोजनाले कोशी प्रदेशको मात्र नभई समग्रमा पर्यटनमा मेघा प्रोजेक्टको रूपमा आउन खोजिएको छ । यसले हामी लगानीकर्तालाई ल्याउन, विदेशी लगानी कर्तालाई आउन आग्रह गरिरहेका छौँ भने आन्तरिक लगानीकर्ताले वैदेशिक रोजगारमा जान बाध्य नेपालीलाई रोक्नको लागि आम नेपालीलाई सर्भिस दिने हिसाबले खोजिएको छ । त्यसको विरोध गरिएको छ । यो चिन्ताको विषय हो । उहाँहरूलाई पछि गएर यो पछुतो हुनसक्छ ।’
पाथीभरामा केबलकार बनाउनुपर्ने माग स्थानीयहरूको छ । यसले तीर्थालु र भक्तजनहरूलाई दर्शनका लागि सहज मार्ग हुनुका साथै स्थानीयहरूले रोजगारी पाउने अवसर दिनेछ ।
तीर्थालु र भक्तजन मात्रै नभई आम पर्यटक र सर्वसाधारणको सहजताका लागि केबलकार बन्नुपर्ने जिकिर स्थानीयको छ । केबलकार बन्दा कुनै धर्म संस्कृति विशेषलाई नभई सबै धर्म र संस्कृतिका आस्थावानलाई फाइदा हुने स्पष्ट छ ।