संविधान मिच्न बानी परेकाहरू कानून मिच्न पनि त्यत्तिकै अग्रसर छन् - अध्यक्ष नेपाल [भिडियो]
सरकार दुई दलीय व्यवस्थाको नाममा तानाशाही व्यवस्था लागू गर्न खोज्दैछ
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ९ शुक्रबार
455
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन् । शुक्रबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकार दुई दलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही व्यवस्था लागू गर्न खोजेको आरोप लगाए ।
साना र प्रतिस्पर्धी दलहरूलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा भइरहेको उनको भनाइ छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान मिच्न बानी परेकाहरू कानून मिच्न पनि त्यत्ति नै अग्रसर देखिएको टिप्पणी गरे । उनले सरकारले संसद्को नियम र नियमावली समेत मिच्ने काम गरिरहेको आरोप लगाए । उनले वर्तमान सरकार आलोचकको घाँटी निमोठ्ने गरी प्रस्तुत भइरहेको समेत उल्लेख गरे । उनले देशभित्र छुवाछुत र महिला बलात्कारका घटनाहरू बढिरहेको भए पनि अपराधीहरू दण्डित नभएको जिकिर गरे । उनले समाजमा विद्यमान समसस्याहरुको समाधान गर्न पार्टी सङ्गठनलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताए ।
उनले भने, ‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ । दुई दलीयको नाममा एकदलीय तानाशाही लाग्ने सोचभन्दा त्यो भिन्न कुरा छैन । यी सबै कुराहरूको सन्दर्भमा साना दलहरूलाई समाप्त पार्ने, प्रतिस्पर्धी दलहरूलाई समाप्त पार्ने र अनेक किसिमका नियन्त्रणका तौर तरिका अपनाएर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा गरिरहेको छ । संविधानलाई मिच्ने बानी परिसकेका व्यक्तिहरू कानून मिच्न पनि त्यत्ति नै अग्रसर भएका छन् । संसद्को नियम र नियमावलीलाई मिच्नेदेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहेको छन् । र आफ्ना आलोचक कोही छन् भने तिनीहरूको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन् । देशको समस्याप्रति कुनै वास्ता छैन । जनताको समस्याप्रति कुनै चासो छैन । देश विकासप्रति कुनै गम्भीरता छैन ।’