वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छ - प्रधानन्यायाधीश [भिडियो]
कानूनको पालना गराउने र कानूनी सर्वोच्चताको वकालत गर्ने संस्थाहरू कमजोर बन्दै गए: न्यायाधीश फुयाँल
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ७ बुधबार
733
Shares
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ऐतिहासिक धरोहरलाई संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको बताए । उनले ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ भएको उल्लेख गरे। उनले यिनै धरोहरबाट भविष्यको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्ने बताए ।
उनले भने, ‘यदि वर्तमानलाई समृद्ध बनाउनु छ भने हरेकले आफ्नो इतिहास बचाउनुपर्छ । ऐतिहासिक धरोहरलाई संरक्षण र संवर्द्धन गर्नुपर्छ । ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ हुन् । यिनै धरोहरबाट भोलिको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्छ ।’
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँले नेपालमा कानूनको पालना गराउने र कानूनी सर्वोच्चताको वकालत गर्ने संस्थाहरू कमजोर बन्दै गएको बताए । अदालत जस्ता संस्थालाई बलियो बनाउन राजनैतिक प्रतिवद्धता पनि कमजोर रहेको उनको जिकिर छ । यस्तो खालि अवस्थालाई वदनियत राख्नेहरूले प्रयोग गर्न सक्ने खतरा रहेको उनको भनाइ छ । कानूनी प्रणाली बलियो बनाएर मात्र जग बलियो हुने भन्दै उनले जग बलियो कसरी बनाउने भन्ने विषय इतिहासबाट सिक्न सकिने बताए ।
उनले भने, ‘जतिखेर ठूलोठूलो लिगल सिस्टमलाई स्प्रेडओभर गर्ने संस्थाहरू कमजोर हुन्छन् । जस्तो कमन ल सिस्टम । मैले कमजोर भनेको छैन तर त्यसपछिको पोल्टिकल वा इम्पेरियल ब्याकिङ कमजोर हुन्छ, त्यसपछाडि मान्छेहरू आफ्नो सिस्टम खोज्न थाल्छन् । एउटा भ्याकुमक्रिएट हुन्छ । मैले त्यस्तो अवस्था आयो त भनेको होइन । तर त्यसको फाउण्डेशन बनाइराख्नुपर्छ । हाम्रो लिगल सिस्टमको फाउण्डेशन बनाइराख्नुपर्छ । त्यो भनेको हाम्रो इतिहासको अभिलेखबाट सम्भव हुन्छ ।’