सङ्घर्षको जगमा समानताको मुद्दा स्थापित : उपमहासचिव पुन
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २ शुक्रबार
2.5k
Shares
खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सशस्त्र सङ्घर्षकै जगमा समानताको मुद्दा स्थापित भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङ र दिलकाजी-ठूलकुमार स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले २०५२ साल फागुन १ मा माओवादीले सुरु गरेको सशस्त्र सङ्घर्षलाई इतिहासले स्वीकार गरिसकेको बताए ।
उनले भने, “सशस्त्र सङ्घर्षकै जगमा भएको जनआन्दोलनपछि संविधानसभाबाट संविधान जारी भएको छ । समानताको मुद्दा संविधानमा लिपिबद्ध भएको छ ।”
नेता पुनले विचार तथा सिद्धान्त मिल्ने वामपन्थी शक्तिबीच चाँडै एकता हुने समेत बताए ।
उनले आगामी २०८४ सालको निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनाव लड्नेगरी तयारीमा जुटेको जानकारी दिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई, केन्द्रीय सदस्य एवं संविधानसभा सदस्यहरु समिता कार्की र दुर्गाजयन्ती राई, प्रदेश सदस्य टङ्क थापा, प्रदेश सदस्य एवं खोटेहाङ गाउँपालिका पार्टी सहइञ्चार्ज इन्द्र नाराथुङ्गेलगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा सहिद, बेपत्ता परिवार, घाइते तथा अपाङ्ग, जनमुक्ति सेना, पूर्णकालीन कार्यकर्तालगायतलाई सम्मान गरिएको छ ।