पूर्वाधार विकासमा अवरोध नगर्न महासङ्घ अध्यक्ष ढकालको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २५ शुक्रबार
471
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि बहानामा पूर्वाधार विकासमा अवरोध नगर्न आग्रह गरेका छन्। उनले विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न राजनीतिक दल तथा आम नागरिकलाई आग्रह समेत गरे।
सरकारले आर्थिक विकासको लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने र लगानीमैत्री वातावरण बनाउने भनिरहेको सन्दर्भमा पछिल्लो समय पूर्वाधारको विकास रोक्न विभिन्न तहबाट भइरहेका गतिविधिहरू खेदजनक रहेको अध्यक्ष ढकालले बताए।
काठमाडौँको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको ‘क्यान इन्फोटेकको ३० औँ संस्करणको उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष ढकालले विकास विरोधी गतिविधिले नेपालमा लगानी निरुत्साहित हुने धारणा राखे।
पाथीभरा केवल कार परियोजनाको बारेमा पछिल्ला समय भइरहेका विरोध तथा टिप्पणी प्रति लक्षित गर्दै उनले भने, “एकातिर हामीले विकासको लागि स्वदेशी तथा विदेशी लगानी भित्र्याउने कुरा गरिरहेका छौँ, अर्कोतर्फ पूर्वाधार विकासमा भइरहेका लगानीलाई विभिन्न बहानामा रोक्ने र नकारात्मक टिप्पणी गर्ने गरेका छौँ। यसबाट लगानीको वातावरण मात्रै बिग्रिने होइन, स्वदेशमै रोजगारी सिर्जना गर्ने र रोजगारका लागि बिदेसिएका युवाहरूलाई नेपालमै रोक्ने अभियानलाई समेत अवरोध गरेका छौँ।”
आफूले नेपालमा रोजगारी सिर्जना होस् भनेर काम गरिरहेको अवस्थामा विभिन्न नाममा विरोध हुनु दुःखद भएको बताउँदै उनले पाथीभरा केवल कार परियोजनाले कुनै धर्म संस्कृतिलाई असर गर्ने भन्दा पनि त्यसको प्रवर्द्धनमा सघाउ पुर्याउने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय कला संस्कृतिको संरक्षणमा सघाउ पुर्याउने बताए।
“म आफ पनि कुनै बेला कामको लागि विदेश गएको हुँ। नेपालमै केही गर्नुपर्छ भन्ने भावना बोकेर नेपाल फर्किएर केही गरिरहेको छु। हजारौँलाई रोजगारी दिएको छु। अहिले पनि नेपाली युवाहरू खाडी र मलेसियामा दुख गर्न बाध्य छन्। पाथीभरामा केवल कार बन्दा स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । केही हजार युवालाई मुलुकभित्रै अवसर सृजना गर्न सकिन्छ,” उनले भने।
उनले सोही केबलकारको विषयलाई लिएर नेपालको बैङ्क तथा वित्तीय संस्थाहरूलाई समेत अनावश्यक विवादमा तान्ने प्रयास भइरहेको उल्लेख गर्दै यस्ता गतिविधिले आन्तरिक तथा बाह्य लगानीलाई निरुत्साहित गर्ने धारणा राखे।