प्रचण्डले एक दलीय व्यवस्थाको लागि युद्ध लडेका हुन् - प्रकाशशरण महत [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २४ बिहिबार
637
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भन्दा बाहिर प्रधानमन्त्रीको पद नजाने भ्रम पाल्दा कांग्रेस र एमाले मिल्नुपरेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले कांग्रेस र एमाले कुनैसँग पनि सहकार्य गर्दा आफू नै प्रधानमन्त्री भइने मानसिकतामा प्रचण्ड रहेको बताए । त्यसलाई अहिले चिरिएको बताए ।
उनले त्यो परिस्थिति समाप्त भएपछिको अवस्थाबाट अभिप्रेरित भएर दाहालले आफ्ना भनाइ राखेको बताए । उनले प्रचण्डले मन्त्रीपरिषद्बाटै पारित भएको कार्यविधि लत्त्याएर तीन करोड भन्दा तल कुनै पनि संघीय आयोजना नराख्ने मन्त्रीपरिषद्को निर्णय उल्ट्याएको बताए । उनले वर्तमान सरकारले सोही बजेटमाथि काम गरेर अघि बढ्नुपर्ने अवस्था भएकाले आर्थिक अवस्था दुरुस्त गर्न समस्या आइरहेको बताए । उनले राजनैतिक परिवर्तनको सम्पूर्ण श्रेय अध्यक्ष दाहालले लिएको र अध्यक्ष दाहालले एक दलीय व्यवस्था चाहेको बताए । एक दलीय व्यवस्था स्थापित गर्ने मनशायले अध्यक्ष दाहालले युद्ध लडेको बताए ।
उनले भने, ‘प्रधानमन्त्री पदमा उन लगातार नेपाली कांग्रेससँग सहकार्य गरे पनि एमालेसँग सहकार्य गरे पनि प्रधानमन्त्री पद प्रचण्डजीकै हुन्छ । प्रचण्डजी भन्दा बाहिर जाँदैन, भन्ने जुन मानसिकतामा उहाँ हुनुहुन्थ्यो । त्यो परिस्थिति समाप्त भएको हुनाले उनका धेरै अभिव्यक्तिहरू त्यसबाट अभिप्रेरित भएर आएको मैले महसुस गरेँ । जुन बेलामा उहाँले नेपाली कांग्रेससँगको गठबन्धन छोड्नुभयो, त्यस बेलामा आर्थिक स्थिति मैले भनेको जस्तो भएन अर्थमन्त्रीले सहयोग गरेन भन्नेजस्तो अभिव्यक्ति दिनुभयो । तर आज उनले त्यस बेलामा एक एक गरेर धेरै आर्थिक उपलब्धि भएका थिए, त्यो मैले नै गरेको थिएँ भनेर दोहोर्याउनु भयो । आर्थिक मन्दीको अवस्था थियो, देश आर्थिक सङ्कटको अवस्थामा थियो, त्यस अवस्थाबाट आर्थिक रूपमा अघि बढाउने सशक्त कोसिस गरेका थियौँ । त्यसमा हामीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थियौँ ।’