एक्कासी कसरी उर्लियो शेयर बजार ? साता वित्तीय संस्थामा सकारात्मक सर्किट
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
706
Shares
काठमाडौँ । शेयर बजारमा आइतबार एक्कासी हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६९.८० अङ्कले बढेर दुई हजार ७२७ दशमलव ५८ अङ्कमा पुगेको छ ।
विभिन्न तीन सय ३० कम्पनीका दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर एक लाख ३० हजार नौ सय १३ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ ९९ पैसाको कारोबार भएको छ ।
आइतबारको कारोबारपछि बजारपुँजीकरण रु ४५ खर्ब २५ अर्ब ४७ करोड ४४ लाख ४४ हजार चार सय ३१ पुगेको छ ।
आइतबारको कारोबारमा सबै उपसमूह बढेका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स चार दशमलव ९२ प्रतिशत, निर्जीवन बिमा कम्पनीको तीन दशमलव ७१ प्रतिशत र विकास बैंक उपसमूह तीन दशमलव १५ प्रतिशतले बढेको छ ।
साथै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था, विजया लघुवित्त वित्तीय संस्था, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
साथै सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कसरी उर्लियो शेयर बजार ?
गत साताको तुलना गर्ने हो भने शेयर बजार यो साता ह्वात्तै बढेको छ । गत साता आइतबार र सोमबार लगातार दुई दिन शेयर बजार घट्यो ।
मंगलबार भने अघिल्ला दुई दिनको नकारात्मक बजारलाई रोक्दै सन्तुलनमा आयो । अर्थात् करिब दुई दिनको ऋणात्मक बजारलाई मंगलबार बराबरीतर्फ ल्यायो ।
बुधबार र बिहीबार सार्वजनिक बिदाका कारण शेयर बजार खुलेन भने शुक्रबार र शनिबार भने नियमित बन्द हुँदै आएको छ ।
यसरी चार दिनसम्म ठप्प रहेको शेयर बजार आइतबार भने जबरजस्त तरिकाले उच्च बिन्दूमा पुगेको हो ।
यसले गर्दा अन्य क्षेत्रमा लगानी मन्दी भएका बेलामा शेयरमा लगानी बढेको देखिन्छ । जसका कारण आइतबार उछाल आएको बुझ्न सकिन्छ ।