भारतलाई घर फर्किने हतारो, दोस्रो दिनमै गुमायो ६ विकेट
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २० शनिबार
951
Shares
काठमाडौँ । अष्ट्रेलिया विरुद्धको पाँचौँ तथा अन्तिम टेष्ट क्रिकेटमा भारतको कमजोर प्रदर्शन कायमै रहेको छ ।
दोस्रो दिनको समाप्तिसम्मै भारतले ६ विकेट गुमाइसकेको छ । पहिलो इनिङ्समा ४ रनको अग्रता लिएको भारतले दोस्रो इनिङ्समा दोस्रो दिनको समाप्तिसम्म ६ विकेट गुमाएर १४१ रन बनाएको छ ।
खराब फर्मबाट गुज्रेका विराट कोहलीले १२ बलमा ६ रन जोडे । सम्भवतः उनले अन्तिम खेल खेलेको आशंका पनि गरिएको छ ।
किनकि खराब फर्मकै कारण यो खेलमा नियमित कप्तान रोहित शर्माले आफैँलाई हटाए ।
ऋषभ पन्तले आक्रामक खेल्दै ३३ बलमा ६१ रन बनाए । उनले टी–२० शैलीमा खेल्ने क्रममा ४ छक्का र ६ चौका हाने ।
स्कट बोलान्डले ४ विकेट लिइसकेका छन् । तेस्रो दिन रविन्द्र जडेजा ८ तथा वासिङटन सुन्दर ६ रनबाट अगाडि खेल्नेछन् ।
पहिलो इनिङ्समा भन्दा सुधारिएको प्रदर्शन गरेको भारतले रोहित शर्माको अनुपस्थितिमा बुमराहले कप्तानी सम्हाल्दा पहिलो टेष्टमा शानदार जित निकालेको थियो ।
यो खेलमा पनि शुभ हुन्छ कि भन्ने आशा गर्न सकिन्छ ।
त्यसपछि रोहितले कप्तानी सम्हाल्दा दुई खेलमा हार तथा एकमा बराबरी गरेको थियो ।
आफू फर्ममा नभएपछि रोहितले अप्रत्याशित तरिकाले पाँचौँ खेलको खेल्ने ११ को नामबाट आफ्नो नाम हटाएपछि फेरि बुमराहले कप्तानी सम्हालेका छन् ।
शुक्रबारदेखि पाँचौँ टेष्ट चलिरहेको छ । सिड्नीमा भइरहेको खेलमा भारतले पहिले ब्याटिङ गर्दै पहिलो इनिङ्समा १८५ रनमात्र बनायो ।
ऋषभ पन्तले सर्वाधिक ४० रन बनाएको इनिङ्समा रविन्द्र जडेजाले पन्तसँग पाँचौँ विकेटका लागि ४८ रनको साझेदारी गर्ने क्रममा २६ रन जोडे ।
कप्तान जसप्रित बुमराहले २२ रन बनाए । ७२ रन जोड्दा शुरुआती ४ विकेट गुमाएको थियो ।
खराब लयबाट गुज्रेका विराट कोहलीले ६९ बलमा १७ रनमात्र बनााए । रोहितको ठाउँमा आएका सुबमन गिलले ६४ बलमा मात्र २० रन जोडे । अष्ट्रेलियाका लागि स्कट बोलान्डले ४, मिचेल स्टार्कले ३ तथा पाट कमिन्सले २ विकेट लिए ।
जवाफमा बुमराहको कप्तानी शुभ देखिने क्रममा अष्ट्रेलियाको ब्याटिङ लाइन पनि ढलेको छ ।
शनिबार दोस्रो दिन १ विकेटको क्षतिमा ९ रनबाट अगाडि खेलेको अष्ट्रेलियाले ५१ ओभर क्रिजमा टिकेर १८१ रनमात्र बनाउन सक्यो । बेउ वेबस्टरले सर्वाधिक ५७ रन बनाए ।
मोहम्मद सिराज र प्रसिद्ध कृष्णले ३–३ तथा जसप्रित बुमराह र नितिशकुमार रेड्डीले २–२ विकेट लिए ।
भारतीय प्रशिक्षक गौतम गम्भीरको प्रशिक्षणले गर्दा भारतीय टिम यतिबेला ध्वस्त भएको छ । उनले खेलाडीहरुलाई मिलाउन सकिरहेका छैनन् ।
अन्तिम खेल जित्दामात्र भारतले श्रृंखलामा बराबरी गर्न सक्नेछ । भारतले खराब लयबाट गुज्रेकै कारण आईसीसी विश्व टेष्ट च्याम्पियनशिपको फाइनल खेल्ने सम्भावना गुमाएको छ ।
आफूले आफैलाई खेल्ने ११ जनाको टिमबाट नाम हटाउने रोहित पहिलो कप्तान हैनन् ।
यसअघि धेरैले यसो गरेका छन् । तर कप्तान भनेको समग्र टिमको जिम्मा लिने खेलाडी हो ।
अब यसरी आफूलाई हटाएपछि रोहित फेरि टेष्टमा फर्केलान् कि सन्यास लेलान् त ?