arrow

प्राधिकरणको गरिमालाई उँचो, विश्वसनीय बनाउने गरी ऐन बनाउँछौँ - मन्त्री पाण्डे[भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १६ मंगलबार
badri-pandey-09-17.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकाय बनाउनेसम्बन्धी विधेयक प्राधिकरणको गरिमालाई उँचो बनाउने गरी निर्माण हुने बताएका छन् । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले हालै मन्त्रिपरिषद्ले नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकाय बनाउनेसम्बन्धी विधेयक पास गेको उल्लेख गर्दै आगामी संसद्मा यसबारे छलफल भई पारित हुने विश्वास व्यक्त गरे । 

उनले यसअघि पनि लामो छलफलपछि राष्ट्रिय सभाले पारित गरिसकेपछि प्रतिनिधि सभामा रोकिएको अवस्थामा अहिलेको सरकारले मन्त्रिपरिषद्बाट पास गरिसकेको जानकारी दिए । मन्त्रिपरिषद्ले पास गर्दैमा ऐन निर्माण नटुङ्गिने र ऐन निर्माणको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भएको उल्लेख गरे । मन्त्री पाण्डेले सरोकारवालालाई बेवास्ता गरेर ऐन नबन्ने प्रतिबद्धता जनाए । उनले कर्मचारीहरूको सेवा सुविधा घट्ने गरी ऐन नबन्ने दाबी गरे । 

उनले भने, ‘हालै मन्त्रिपरिषद्ले पास गरेको नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकाय बनाउने भन्ने जुन दुई वटा ऐन आएका छन् । त्यो दुई वटा ऐनका सन्दर्भमा यहाँहरू जानकार हुनुहुन्छ । यो पहिला लामो छलफल भएपछि यो राष्ट्रिय सभामा प्रस्तुत भएर राष्ट्रिय सभाले पारित गरिसकेपछि प्रतिनिधि सभामा आएर रोकिएको अवस्था थियो । त्यो रोकिएको अवस्थाको ऐनलाई हामीले मन्त्रिपरिषद्मा पुर्‍याएका छौँ र मन्त्रिपरिषद्ले पास गरेको छ । मन्त्रिपरिषद्ले पास गर्दैमा यो ऐन टुङ्गिएको छैन । ऐन निर्माणको एउटा प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भएको छ । यो संसद्मा प्रस्तुत हुन्छ, संसद्मा प्रस्तुत भएपछि यसमा सैद्धान्तिक छलफल हुन्छ, सैद्धान्तिक छलफल भएको ७२ घण्टासम्म संशोधनका प्रस्तावहरू दर्ता हुन्छन् । तपाईंहरुलाई केही कुरा चित्त बुझेको छैन भने संशोधनमार्फत सुधार गर्न सकिन्छ । तपाईँहरूको सरोकारवालालाई बेवास्ता गरेर ऐन बन्नेछैन । तपाईँहरूको सरोकारलाई सम्बोधन गरेर मात्रै ऐन बन्नेछ । कर्मचारी साथीहरूलाई आश्वस्त के कुरामा पार्न चाहन्छु भने तपाईँहरूको कुनै पनि किसिमको सेवा सुविधा घट्ने गरी ऐन बन्नेछैन । ऐन प्राधिकरणको गरिमालाई उँचो बनाउने, विश्वसनीय बनाउने गरी ऐन बनाउँछौँ । त्यसमा कुनै किसिमले निराश हुनु पर्दैन ।’

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमका विमानहरू पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको र विमानहरूको सङ्ख्यामा पनि कमी रहेको बताए । उनले नेपाल वायुसेवा निगमका विमानहरूको सङ्ख्यालाई व्यवस्थापन गर्नेतिर सरकारले सोचिरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ