arrow

यी हुन् टेलिकमका सीएसआर कार्यक्रमहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १४ आइतबार
nepal-telecom-building.jpg

काठमाडौँ । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरु सञ्चालन गरेको छ । व्यावसायिक क्रियाकलापहरु सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्व प्रतिको प्रतिवद्धता व्यक्त गर्दै आएको छ ।

कम्पनीले विगतका आर्थिक वर्षहरुदेखि नै सामाजिक उत्तरदायित्वका पुराना कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै थप नयाँ कार्यहरुसमेत गर्दै आएको जनाएको छ । 

टेलिकमले प्रेस विज्ञप्ति जारी गर्दै हाल गर्दै आएका संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका मुख्य कार्यहरुबारे जानकारी दिएको छ । 

हरियाली संरक्षण तथा वृक्षरोपण: नेपाल टेलिकमले काठमाडौँको माइतीघर देखि तिनकुने सम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यस अन्तर्गत मौसमी फूलका बिरुवाहरु रोप्ने, रुखहरु तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरु सञ्चालन गरिएका थिए । 

विद्यालयमा विभिन्न भौतिक तथा शैक्षिक सामग्री वितरण: नेपाल टेलिकमले निरन्तर रुपमा नेपाल भरिका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुट लगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरु उपलब्ध गराएको छ ।

साथै देशभरका २० जिल्लाका १/१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

वातावरण सरसफाईः धार्मिक मठ मन्दिर, पुरातात्विक एवम् पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचा लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरुमा आवश्यकता बमोजिम डस्टवीन वितरण गरिएको छ ।

वृद्धाश्रम, बाल आश्रम लगायतका संरक्षणस्थलमा सहयोग: सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरुलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरुमा भोजन एवम् न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको छ ।

अस्पतालमा बेड कम चेयर वितरण: नेपाल टेलिकमले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल लगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीका कुरुवाहरुले आराम गर्न सहज होस् भन्ने उद्देश्यले बेड कम चेयर उपलब्ध गराएको छ । 

विद्यालयमा इन्टरनेट सेवा: नेपाल टेलिकमले विद्यालयहरुमा पटनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले एफटीटीएच सेवा पुगेका देशभरका विभिन्न १०० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा ५० एमबीपीएच गतिको एफटीटीएच इन्टरनेट १ वर्ष सम्मका लागि निःशूल्क उपलब्ध गराएको छ । त्यसैगरी एफटीटीएच सेवा नपुगेका ७ वटै प्रदेशका विभिन्न ५० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा १ वर्ष सम्मका लागि नमस्ते वाईफाई राउटर सहितको फोरजी  इन्टरनेट प्याकेज निःशुल्क उपलब्ध गराएको छ ।

एसईई तयारी गरिरहेका विद्यार्थीलाई सहयोग: नेपाल टेलिकमले आउँदै गरेको एसईई परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट नि:शुल्क रुपमा पढ्न पाउने व्यवस्था मिलाएको छ ।

यसका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका अन्य कार्यक्रमहरु तपसिल बमोजिम छन्: 

-फरक क्षमता भएका व्यक्तिहरुलाई छुट्टै प्याकेज सहितको नि:शुल्क प्रिपेड सिमकार्ड वितरण ।
-नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संस्थाहरुको सिफारिसमा विभिन्न पर्व, अवसर तथा विपत्तिको समयमा नि:शुल्क कलर रिङ्गटोनको प्रसारण कार्य ।
-गणतन्त्र दिवस, संविधान दिवस लगायतका पर्व, अभियान, सम्मेलन तथा प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारी मूलक सन्देशहरु नि:शुल्क बल्क एसएमएस मार्फत प्रवाह ।
-गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित जनसमुदायको लागि ब्ल्याङ्केट, टेन्ट लगायतका राहत सामग्री उपलब्ध गराइएको ।
-गत असोजको पहिरो तथा डुबान पीडितहरुलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ