विमानस्थल सम्बद्ध निकायलाई पर्यटकको सहजीकरण गर्न मन्त्री पाण्डेको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ८ सोमबार
526
Shares
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकहरु सहजीकरण गर्नका लागि विमानस्थल सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थल सम्बद्ध निकायको बैठकमा मन्त्री पाण्डेले उक्त निर्देशन दिएका हुन् ।
मन्त्री पाण्डेले भने, 'त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थल संवेदनशील क्षेत्र हो । राजनीतिक मान्छेको सरल पहुँच भएका कारण यस क्षेत्रको धेरै गुनासो आउने गरेको छ । सुरक्षा निकायको भूमिका अझैं प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ, उनले थप्दै भने,एक पटक आउने विदेशी पर्यटकहरुलाई पटक पटक आउने खालको वातावरण बनाउनुपर्छ ।'
उनले त्रिभुवन विमानस्थल विदेशीहरुका लागि प्रमुख प्रवेशद्वार भएकाले यहाँका कर्मचारीहरुले राष्ट्रिय पहिचान झल्किने खालको पोशाक लगाउनसमेत आग्रह गरे ।
मन्त्री पाण्डेले ४६ लाख क्षमता भएको त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलले हाल ९० लाख यात्रुहरुलाई सेवा दिनु पर्ने बाध्यता रहेको स्मरण गर्दै प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त पार्नसमेत अनुरोध गरेका छन् ।
उनले विमानस्थलमा देखिएका समस्याहरुको पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्नसमेत निर्देशन दिए ।
मन्त्री पाण्डेले भने, 'भन्सार,अध्यागमन,एयरलाइन्स,क्यान कसले के के काम गर्ने र कति सयम भित्र गर्ने भनि प्राथमिकरण गर्नुहोस्। त्यसका लागि १५ दिन भित्र कार्ययोजना बनाएर अघि बढ्नुहोस् ।'
मन्त्री पाण्डेले विमानस्थलमा आउने गुनासाहरुलाई सहज रुपमा सम्बोधन गर्न सम्बद्ध निकायलाई निर्देशन दिँदै अन्तरमन्त्रालय मार्फत हुने समन्वात्मक कार्यका लागि अग्रसर रहनेसमेत बताए ।