प्राविधिक समस्याका कारण उद्योगहरूमा विद्युत् कटौती , लोडसेडिङ हुँदैन - कुलमान [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ३ बुधबार
824
Shares
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको बताएका छन् । कार्यकारी निर्देशक घिसिङले केही प्रसारण लाइनहरू मर्मत गर्नुपर्ने भएको कारण वीरगन्ज र बुटवल क्षेत्रका उद्योगहरूमा विद्युत् आपूर्ति बन्द गर्नुपरेको बताए । उनले ट्रान्समिसन लाइनहरूको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत् आयात गर्न नदिएको कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको बताए ।
धेरै विद्युत् खपत हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतबाट विद्युत् आयात गर्न नदिएको उनको भनाइ छ । उनले ४५६ मेगावाट क्षमता रहेको अप्पर तामाकोसी गत असोजमा आएको बाढीले क्षति पुर्याउँदा विद्युत् आपूर्तिमा समस्या भइरहेको बताए । उनले अप्पर तामाकोसी निर्माण कार्य भइरहेकोले पूर्णरुपले सञ्चालनमा आउन अझै ५-६ महिना लाग्ने बताए । अप्पर तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत् प्रवाह भएपछि अहिलेको लोडसेडिङ समस्या समाधान हुने उनको दाबी छ ।
उनले भने, ‘दुई तीन दिनदेखि प्रसारण लाइनमा समस्या आएको थियो । ढल्केवरबाट नवलपुरसम्मको प्रसारण लाइनमा एउटा सर्किट चुँडिएको कारणले ६, ७ वटा टावरमा मर्मत गर्नुपर्ने भयो । त्यसलाई स्टिर्निङ गर्नको लागि हाम्रो एसटिएलएस भन्ने कन्डक्टर, स्पेसल क्लासको कन्डक्टर हो । त्यसलाई तान्नको लागि अलिकति समय लागेको हो । त्यस कारणले वीरगन्ज क्षेत्रमा र पश्चिमदेखि बुटवलसम्मका उद्योगहरूमा दिउँसो पनि हामीले कममा विद्युत् चलाउनु पर्ने समस्या भएको हो । अर्को, हिउँदमा भारतबाट विद्युत् आयातका लागि जुन सहमति भएको छ, त्यो दिउँसो र राति आयात गर्ने सहमति भएको छ । बेलुका पाँच बजेदेखि राति ९ बजेसम्म पिक टाइम भन्छ, त्यो पिक टाइममा हामीलाई इम्पोर्ट गर्न दिएको छैन । त्यसकारण हामीले केही उद्योगहरूमा विद्युत् कटौती नगरिकन दिन सकिँदैन । किनभने पहिला चाहिँ हाम्रो अप्पर तामाकोसी थियो । त्यसको ४५६ मेगावाटको हामीले के गथ्र्यौं भने दिनमा भारतबाट इम्पोर्ट गरेर चलाउने गथ्र्यौं । राति पानी जम्मा भएको हुन्थ्यो । अप्पर तामाकोशीलाई असोजको बाढीले ड्यामजे गर्यो । त्यसको मर्मत भइरहेको छ । हामीले एउटा डिफेन्डरलाई चलाएर काम गर्दैछौं । यही पुस १० गतेसम्ममा एउटा डिफेन्डरको पानी हामी टेम्पोरर्ली हामी चलाउँछौ । त्यसपछि पिक टाइमको समस्या पनि बिस्तारै कम हुँदै जान्छ । अर्को १०-१५ दिनमा हामी ४५६ मेगावाट नै चलाउँछौँ । अप्पर तामाकोसी पूर्ण रुपले सञ्चालनमा आएपछि बेलुकाको पिक टाइममा पनि हामी विद्युत् प्रवाह गर्न सक्छौँ । तामाकोसीको दुइटै डिसेन्डर चलाउनका लागि पाँच छ महिना अझै लाग्छ । किनभने त्यसको ड्यामेज धेरै भएको छ ।’
कार्यकारी निर्देशक घिसिङले अहिले नेपालमा १६०० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेकोमा डिमान्ड १९०० मेगावाटको रहेको बताए । उनले उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपर्ने बाध्यता रहेको बताए । अन्य ग्राहकहरूले लोडसेडिङको समस्या झेल्नु नपर्ने उनको भनाइ छ । उनले अन्य विभिन्न ट्रान्समिसन लाइनहरूमा समस्या भएकै कारणले विद्युत् कम उत्पादन भइरहेको भए पनि मुख्य कारण अप्पर तामाकोशीबाट विद्युत् उत्पादन नहुनु नै रहेको बताए ।
उनले भने,‘अहिले हाम्रो नेपालकै जेनेरेशन १६०० मेगावाट जतिको हुन्छ । तर उद्योगहरुसहतिको डिमान्ड १९०० जतिको हुन्छ । त्यसकारण हामीले २०० देखि ३०० मेगावाट जतिको लोड चाहिँ कममा चलाउनुपर्छ । त्यो पनि उद्योगहरूलाई । अन्य ग्राहकको लागि कुनै समस्या छैन । हामी पिक टाइमको लाइमको लागि पनि भारतसँग विद्युत्को लागि माग गर्दै पत्र पठाएका छौँ । यस्तै समस्या पोहोर साल पनि भएको थियो । केही ट्रान्समिसन लाइनहरूको समस्या अहिले पनि छ । अहिले अत्तरियादेखि पूर्व कोहलपुरसम्मको लाइनमा पनि केही समस्याहरू आएको छ । रुख ढलेको छ । रक्सौलदेखि पर्वानिपुरसम्मको ट्रान्समिसन लाइन चाहिँ हामीले एक महिनाको सट डाउनमा राखेका छौँ । त्यहाँबाट अहिले बिजुली इम्पोर्ट गर्न मिल्दैन । अब का केही दिन भित्रमा त्यो आउँछ । विद्युत् आपूर्ति बन्द हुनुको केही प्राविधिक कारणहरू हुन् । तर मुख्य कारण भनेको अप्पर तामाकोसी बन्द भएको कारणले हो । तामाकोशीबाट विद्युत् आउन साथ उद्योग क्षेत्रलाई पनि सहज हुन्छ। ’
उद्योगहरूमा भइरहेको लोडसेडिङको समस्या समाधान गर्न लागिपरेको उनले बताए । उनले पिक समयमा भने उद्योगहरूमा विद्युत् कटौती नगरी सुख्खयाममा नागरिकलाई विद्युत् आपूर्ति गर्न नसकिने बताए । उनले यो हिउँदमा लोडसेडिङ नहुने पनि बताए । लोडसेडिङ हुने चरणमा नरहेको उनले स्पष्ट पारे ।