व्यक्तिगत सम्पर्कबाट वैदेशिक रोजगारीमा जाने प्रवृत्ति डरलाग्दो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २ मंगलबार
752
Shares
काठमाडौँ । नेपाल टेड युनियन महासङ्घ (जिफन्ट) ले श्रमिकहरू वैदेशिक रोजगारीको लागि व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गरेको छ । मंगलबार काठमाडौँमा अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलन गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो ।
महासङ्घले वैदेशिक रोजगारीको लागि श्रमिकहरू एजेन्सीमार्फत जानुको सट्टा व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढ्नु डरलाग्दो सङ्केत भएको बताएको छ । वैदेशिक रोजगारीमा एजेन्सीमार्फत आर्थिक वर्ष २०८०-८१ मा ३ लाख ५३ हजार १६३, व्यक्तिगत माध्यबाट ९५ हजार ३८, वैधानिकिकरण गरेका ११ हजार ९०१, पुनः श्रम २ लाख ८१ हजार १९५, पुनः श्रम स्वीकृत लिएको कुल सङ्ख्या ७ लाख ४१ हजार २९७, नयाँ श्रम स्वीकृतिको कुल सङ्ख्या ४ लाख ६० हजार १०२ रहेको जिफन्टले जनाएको छ ।
वैदेशिक रोजगारमा गएकाहरूको जिल्लागत विवरण:
भौगोलिक रूपमा पहाडी जिल्ला भन्दा तराईका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या धेरै छ । विगत दुई वर्ष यता धनुषाबाट ३९ हजार १०७, झापाबाट ३४ हजार ३६२, मोरङबाट ३१ हजार ९७, सिराहाबाट ३० हजार ९३०, महोत्तरी २७ हजार ३५०, सुनसरी २३ हजार ९४९, रुपन्देही २३ हजार ६०६, सर्लाही, २१ हजार २४३, सप्तरी २० हजार ४ सय, चितवन १८ हजार २४८ जना वैदेशिक रोजगारीका लागि गएको छ ।
यस वर्ष गन्तव्य मुलुकमा जाने नेपाली श्रमिकहरूको संख्या
यस वर्ष विगतमा झैँ नेपालीहरूको मुख्य गन्तव्य मुलुक खाडी राष्ट्र नै रहेको जिफन्टले बताएको छ । जसमा युएई १ लाख ९३ हजार ५०२, साउदी अरेबिया १ लाख ४१ हजार ५०२, कतार १ लाख ३४ हजार ६६९, मलेसिया १ लाख ३ हजार ४४२, कुवेत ४० हजार ३६८, क्रोएसिया १५ हजार ३६४, रोमानिया, १३ हजार २१, जापान १३ हजार ८६४, दक्षिण कोरिया १३ हजार २६, बहराइन ९ हजार ८०६ जना रहेका छन् ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको संख्या
२०२३-०२४ मा वैदेशिक रोजगारीमा जाने १ हजार ४९२ जना नेपालीको मृत्यु भएको छ । जसमा ११६ जना महिला रहेका छन् भने १ हजार ३७६ पुरुष रहेको जिफन्टले जनाएको छ । गत २०२२-०२३ को वर्षमा ४५ जना महिला र १ हजार १६३ पुरुष गरी १ हजार २ सय ८ जनाको निधन भएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले विगतमा काम गर्दा खाडी मुलुकमा मात्रै श्रमिकहरू जान्छ भन्ने मान्यता रहे पनि अहिले युरोपदेखि अमेरिकासम्म काम गर्नका लागि श्रमिकहरू विदेशिने गरेको बताए । उनले जिएजि (जिफन्ट सपोर्ट ग्रुप) बनाएर श्रमिकहरूको अधिकार संरक्षण गर्ने पक्षमा जिफन्टले काम गरिरहेको बताए । उनले सोमबार मात्रै जिफन्टले अमेरिकामा काम गर्न पुगेका नेपालीहरूको अधिकार संरक्षणका लागि जिफन्ट सपोर्ट ग्रुप बनाएर काम शुरु गरेको बताए । उनले । वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षामा योगदान गर्नुपर्ने व्यवस्थाले गर्दा १३ लाख १ हजार ७८ जना श्रमिकहरूको योगदानसहित सूचीकरण भएको उल्लेख गरे । उनले उनीहरूको योगदान नियमित नहुनाले कोषको स्किमहरूअनुसार श्रमिक स्वयं र परिबारजनले पाउने सुविधाबाट वञ्चित हुनुपरेको बताए । जिफन्टले महाधिवेशनबाट लिएको सामाजिक सुरक्षामा मिसन २ मिलियनको नारालाई यस वर्षबाट मिसन २ मिलियन नियमित योगदानसहित भनेर थप स्पष्ट पारेको उल्लेख गरे ।
उनले भने, ‘हामीले विगतमा काम गर्दा खाडी मुलुकमा मात्रै श्रमिकहरू जान्छ भन्ने मान्यता थियो । त्यहीँ मात्रै श्रम बेच्न गइरहेको थियो भने आज युरोपदेखि अमेरिकासम्म पनि श्रम गर्नका लागि नेपाली श्रमिकहरू पुगेको छ । त्यसैले अहिले हामी खाडी मुलुकबाट ए टु जेट सबै देशमा जिएजि (जिफन्ट सपोर्ट ग्रुप) बनाएर श्रमिकहरूको अधिकार संरक्षण गर्ने पक्षमा काम गरिरहेका छौँ । हिजो मात्रै हामीले अमेरिकामा काम गर्न गइरहेका श्रमिकहरूको हक हितको सुनिश्चितता र संरक्षण गर्न समेत हिजोबाट अमेरिकामा जिएसजि स्थापना गरेका छाँै । बिस्तारै हामी युरोपियन देशहरूमा पनि तयारीको क्रम जारी छ । वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षामा योगदान गर्नुपर्ने व्यवस्थाले गर्दा १३ लाख १ हजार ७८ जना श्रमिकहरूको योगदानसहित सूचीकरण भएको छ । उनीहरूको योगदान नियमित नहुनाले कोषको स्किमहरूअनुसार श्रमिक स्वयं र परिबारजनले पाउने सुविधाबाट वञ्चित हुनुपरेको छ । जिफन्टले महाधिवेशनबाट लिएको सामाजिक सुरक्षामा मिसन २ मिलियनको नारालाई यो वर्षबाट मिसन २ मिलियन नियमित योगदानसहित भनेर थप स्पष्ट गरेका छौँ । सामाजिक सुरक्षामा समाहित हुने मजदुरको सङ्ख्या बढेको छ । करिब ६० हजार नियमित श्रमिकहरू मात्रै सामाजिक सुरक्षामा आबद्ध भइरहेका छन् । वैदेशिक रोजगारीको लागि श्रमिकहरू एजेन्सीमार्फत जानुको सट्टा व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढेको छ । यो डरलाग्दो सङ्केत हो ।’