इजरेलले प्यालेस्टाइनीमाथि नरसंहार गरेको छ - प्रचण्ड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
418
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इजरेलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै विरोध जनाएका छन् । सोमबार काठमाडौँको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरेली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले इजरेलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका विरुद्ध विगतदेखि नै विश्वव्यापी रूपमा आवाज उठ्दै आएको बताए ।
उनले अहिले पछिल्लो चरणमा प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको विरोध गरे । संयुक्त राष्ट्रसङ्घमा यसको विरुद्धमा पटक पटक प्रस्तावहरू पारित हुने गरेको भए पनि इजरेलले अटेर गरेर प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको बताए । अमानवीय ढङ्गले आक्रमण गरी हत्या गरेकोमा सबैले आवाज उठाउनुपर्ने बताए ।
उनले भने, ‘इजरेलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका विरुद्ध विगतदेखि नै विश्वव्यापी रूपमा आवाज उठ्दै आएको कुरा हामी सबैलाई थाहा छ । अहिले पछिल्लो चरणमा खासगरी प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको पनि विश्वव्यापी रूपमा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घमा पनि यसका बारेमा पटक पटक प्रस्तावहरू पारित हुने गरेका छन् तर ती सबैलाई पनि अटेरी गर्दै जसरी नरसंहार र नाकाबन्दीको निरङ्कुश तरिका अपनाइएको छ । २१ औँ शताब्दीको सभ्य समाज भनिन्छ । लोकतन्त्रको युग भन्ने गरिन्छ । तर यो २१ औँ शताब्दीको सभ्य भनिएको समाजमा लोकतन्त्रको नयाँ युग भनिएको बेलामा पनि यति अमानवीय ढङ्गले अस्पतालमा बालबालिकादेखि निर्दोष र निरपराध मान्छेहरूको नरसंहार गरेको देख्नुपरेको छ मानव जातिले । त्यसकाविरुद्ध विश्वव्यापी आवाज उठाउन हामी सबैको कर्तव्य हुन आउँछ । अहिले नेपालका राजनीतिक दल, नागरिक समाज, विद्वत व्यक्तित्व सबैले पहल गरेर आवाज उठ्न शुरु गरेको छ ।’
७ अक्टोबर २०२३ मा इजरेलले गाजामा आक्रमण गरेको थियो । तत्कालीन समयमा नेपालका प्रधानमन्त्री दाहाल नै थिए । अहिले २०२४ को डिसेम्बर ९ मा आएर तत्कालीन प्रधानमन्त्री दाहालसहितका नेताहरूले गाजामाथिको आक्रमण रोक्नुपर्ने मागसहित हस्ताक्षर अभियान शुरु गरेका हुन् ।