कोहली–रोहित अनिवार्य संन्यासतिर, अष्ट्रेलियासँग १८० रनमै रोकियो भारत
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
418
Shares
काठमाडौँ । भारत र अष्ट्रेलिया बीचको बोर्डर गाबस्कर ट्रफी (बीजीटी) क्रिकेट श्रृंखलाको दोस्रो टेष्ट खेलमा भारतले खराब ब्याटिङ गरेको छ ।
एड्लेडमा शुक्रबारदेखि भइरहेको डे–नाइट खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४४.१ ओभरमात्र क्रिजमा टिकेर १८० रनमै समेटियो ।
नितिशकुमार रेड्डीले सर्वाधिक ४२ रन बनाएको इनिङ्समा शुबमन गिलले ३१, रविचन्द्रन आश्विनले २२ तथा ऋषभ पन्तले २१ रन बनाए बाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् ।
कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले बिर्सनयोग्य खेले । रोहितले २३ बलमा ३ तथा विराटनले ८ बलमा ७ रन जोडे ।
पछिल्लो समय फर्म गुमाउँदै गएका दुवै खेलाडीलाई अनिवार्य संन्यासको दबाब बढेको छ । यद्यपि कोहलीले पहिलो खेलमा शतक बनाएका थिए ।
मिचेल स्टार्चले ६ तथा पाट् कमिन्स र स्कट बोल्यान्डले २–२ विकेट लिए ।
पहिलो खेलको नतिजा
यसअघि पहिलो टेष्ट भारतले जितेको थियो । घरेलु मैदानमा पर्थमा भएको खेलमा अष्ट्रेलिया २९५ रनले पराजित भएको हो । भारतीय कप्तान जसप्रित बुमराहको बलिङ सामु टिक्न नसकेपछि अष्ट्रेलियाले हारको सामना गरेको हो ।
५३४ रनको असम्भव चुनौती पछ्याएको अष्ट्रेलियाले २३८ रन बनायो । ट्राभिस हेडले सर्वाधिक ८९ रन बनाए । बुमराह र मोहम्मद सिराजले ३–३ तथा वासिंगटन सुन्दरले २ विकेट लिए ।
यसअघि अष्ट्रेलिया पहिलो इनिङ्समा १०४ रनमै अलआउट भएको थियो । मिचेल स्टार्चले सर्वाधिक २६ रन बनाएको इनिङ्समा मार्नसस लाबुसांगेले अचम्मको रेकर्ड बनाए । उनले ५२ बल खेलेर मात्र २ रन बनाए ।
भारतका लागि कप्तानी इनिङ्स खेल्ने क्रममा जसप्रित बुमराहले ३० रन दिएर ५ विकेट लिए । त्यस्तै डेब्यु खेलाडी हर्षित रानाले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए ।
भारतले पहिलो इनिङ्समा ४६ रनको अग्रता लिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले एक सय ५० रनमात्र बनाएको थियो ।
भारतका लागि डेब्यु खेलाडी नितिशकुमार रेड्डीले ५९ बलमा ४१ रन बनाए । त्यसतै ऋषभ पन्तले ७८ बलमा ३७ रन जोडे ।
साथै केएल राहुलले २६ रन बनाए भने ध्रव जुरेलले ११ रन जोडे । त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर खडा गरेनन् ।
नियमित कप्तान रोहित शर्मा बिना जसप्रित बुमराहको कप्तानीमा मैदानमा उत्रिएको भारतका लागि भरपर्दा ब्याट्सम्यान विराट कोहलीले केबल ५ रनमात्र बनाए ।
४९.४ ओभरमै भारतलाई अलआउट गर्ने क्रममा जोश हाज्लेवुडले ४ तथा मिचेल स्टार्च, पाट कमिन्स र मिचेल मार्शले २–२ विकेट लिए ।
जवाफमा भारतले दोस्रो इनिङ्स कमालको खेल्यो । भारतले ६ विकेटको क्षतिमा ४८७ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्यो । यशस्वि जैसवालले १६१, विराट कोहलीले तीसौँ टेष्ट शतक हान्ने क्रममा अविजित रहँदै १०० तथा केएल राहुलले पहिलो विकेटका लागि २०१ रनको साझेदारी गर्ने क्रममा ७७ रन बनाए ।
बुमराह प्लेयर अफ द म्याच रहे । उनले ७२ रन दिएर ८ विकेट लिए ।
यो जितसँगै भारतले पाँच खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ ।
निरन्तर हारको सामना गरेको भारत पहिलो पटक विश्व टेष्ट च्याम्पियनशिपको फाइनल प्रवेशको सम्भावनाबाट टाढिएको भए पनि अष्ट्रेलियामाथि ठोस शुरुआत गरेसँगै आशा जागेको छ ।
जितसँगै भारत १५ खेलमा ६१.११ अंकसहित शीर्ष स्थानमा रहेको छ । १३ खेलबाट अष्ट्रेलिया ५७.६९ अंकसहित दोस्रो स्थानमा झरेको छ ।
९ खेलबाट ५५.५६ अंकको श्रीलंका तेस्रो, ११ खेलबाट ५४.१७ अंकको न्यूजिल्याण्ड चौथो तथा ८ खेलबाट ५४.१७ अंकको दक्षिण अफ्रिका पाँचौँ स्थानमा छ ।
भारतले अष्ट्रेलियामाथिको श्रृंखलामा ह्वाइट वास गर्ने हो भने शीर्ष दुईमा रहेर फाइनल खेल्ने पक्का हुनेछ ।