काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरिएको छ । सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र ८ टिमका मार्की खेलाडीले धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले क्रिकेट युवा पुस्ताको एउटा सपना र गौरव बनेको बताए । उनले क्रिकेट खेल मात्र नभई राष्ट्रिय जागरूकता, अनुशासनको प्रतिक पनि बनेको उल्लेख गरे । उनले एनपीएलले पर्यटन व्यवसायको पनि प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्दै महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न नेपाल क्रिकेट सङ्घलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘क्रिकेट हाम्रो युवा पुस्ताको एउटा सपना बनेको छ । एउटा गौरव बनेको छ । यो हाम्रो खेल मात्र नभई हाम्रो राष्ट्रिय जागरूकता, अनुशासनको प्रतिक पनि बनेको छ । जनकपुर बोल्ड्सका कप्तान आसिफ शेखले स्पोट्सम्यानसिप देखाउँदै आयरल्याण्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल भिडियो मैले पनि हेरेको थिएँ । आसिफ सेखलाई क्याप्टेन, कुल, शान्त भनेर नाम, उपनाम दिए पनि हुन्छ । काठमाडौं गोर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन ब्वाइ भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ । उनले राजधानीको नाम राख्ने आशा लिएको छु । पोखरा एड्भेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् की ब्याटर छुटाउन गाह्रो हुने उनको कौशल छ, विश्वले नै छुटाउन सकेको छैन जस्तो लाग्छ । यस पटक ९९ मा आउट हुन नपरोस् । शतक हान्नु भन्ने मेरो शुभकामना छ । हाम्रो साथीहरूले चितवन राइनोज भन्ने गर्नुभएको छ, म चाहिँ चितवन गैडाज भन्ने गर्दछु । त्यति पनि अङ्ग्रेजी नजान्ने भनेर फेरि भन्लान् । अङ्ग्रेजीको पण्डित हुनुपर्छ भन्ने केही छैन, तपाईँहरू क्रिकेट चाहिँ राम्रो खेलाडी होस् । चितवन राइनोजका कप्तान कुशल मल्ल हेर्दा सानोसानो जस्तो लाग्थ्यो । ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ । लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो की मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ । विराटनगर किंग्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बेस्डर जस्तै रहे । बिबिएलदेखि आइपिएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ । त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो भने गर्छ । कर्णाली याक्सका सोमपाल कामीका ती योर्करहरुलाई कसले भुल्न सक्छ । सोमपालले कर्णालीको चिसो पानीको तागत मैदानमा देखाउनेछन् । अन्तिममा हिरोको पालो आउँछ । मेरो फेब्रेट नै भनौँ । नेपाली क्रिकेटका बाघ दीपेन्द्र सिंह ऐरीको ६ छक्काको कीर्तिमा मलाई स्मरण छ । एनपीएलमा यस्ता धेरै कीर्तिमान बनुन् । सुदूरपश्चिम रोयल्सलाई पनि मेरो शुभकामना छ । ’