arrow

एनपीएलका लागि यसरी बन्दैछ त्रिवि क्रिकेट मैदान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ८ शनिबार
tu-crick-ground-08-07.jpg

काठमाडौँ ।  नेपाल प्रिमियर लिग एनपीएलको चर्चा अहिले चुलिएको छ । अन्य खेलकुद सङ्घहरूले देशको आर्थिक स्थितिलाई दोष दिँदै चुपचाप बसिरहँदा नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली खेलकुद नै तरङ्गित हुने गरी चर्चा बटुलिरहेको हो । 

चाहे प्रमुख प्रायोजन सम्झौता होस् वा शिखर धवन, मार्टिन गप्टिल, जिमि निशम, रवि बोपरा जस्ता विश्व स्टारको आगमन अनि स्टार स्पोर्ट्ससँगको सम्झौता । योसँगै अर्को चर्चाको विषय बनेको छ, त्रिवि खेल मैदान । यो पटक मैदान पुग्ने दर्शक र क्रिकेट समर्थकहरूले केही हदसम्म मैदानको स्वरूप परिवर्तन भएको महसुस पक्कै गर्नेछन् । 

यी दृश्यहरूले पनि स्वरूप फेरिएको त्रिवि मैदानको आभास हुन्छ । विशेष गरी यो पटक दर्शकको सुरक्षालाई ध्यान दिइएको क्यानको भनाई छ । यो पटक साधारण प्याराफिटतर्फ पहिलो पटक जोन छुट्टाइएको छ । टिकट खरिद गर्दा जोनअनुसार खरिद गर्नुपर्नेछ । र चार जोनको लागि अलग अलग गेट बनाइएको छ । अर्को ठूलो परिवर्तन भनेको त्रिवि मैदानमा पहिलो पटक भीआईपी टिकटको व्यवस्था गरिनेछ । जसका लागि बस्ने मेच राखिएको छ । त्रिविमा दर्शकको लागि मेच राखिएको पहिलो पटक हो । दुई ठाउँमा गरी दुई हजार दर्शक क्षमता भीआईपीतर्फको रहेको छ । तर १२ सयसम्म टिकट बेच्ने क्यानले जनाएको छ । साधारणतर्फ भने दश हजारसम्म टिकट बेच्ने बताइएको छ ।

यसबाहेक पहिलो पटक डिजिटल स्कोरबोर्ड अर्को परिवर्तनको रूपमा रहनेछ । पहिलो पटक त्रिविमा डिजिटल स्कोरबोर्ड जडान गरिएको हो । यसबाहेक अर्को महत्त्वपूर्ण पक्ष भनेको पिच हो । पिचमा लगानी र मेहनत भरपुर गरिएको छ । बङ्गलादेशका क्युरेटरको नेतृत्वमा पिचलाई स्तरीय बनाइएको छ । सँगै आउटफिल्ड पनि निकै राम्रो बनेको छ । दर्शक र मैदानबीचको बारलाई सारिएको छ । जसले गर्दा बाउण्ड्री नै बढेको छ । 

अर्को ठूलो परिवर्तन भने भीआईपी र फ्रेन्चाइज लाउन्ज बनेको छ । मिडिया बक्स प्लेयर बक्सभन्दा माथि सारिएको छ । प्रयाक्टिस ट्रफ पनि अहिले पाँच वटा बनाइएको छ । साइड स्क्रिन पनि परिवर्तन गरिएको छ । क्यान आफैँले गरेको स-साना परिवर्तनले पनि मैदानको स्वरूपमा सकारात्मक परिवर्तन देखिएको छ । तर सरकारले १०० दिनभित्र जडान गर्ने भनेको फ्लड लाइट भाषणमा मात्र सीमित बनेको छ । यसबाहेक सुरक्षाका लागि नेपाल प्रहरीसँग सहकार्य भएको पनि क्यानले जनाएको छ ।

 ८ टिमबीच हुने एनपीएल यही मङ्सिर १५ गतेदेखि शुरू हुँदैछ । यसअघि पनि धेरै पटक नेपालमा फ्रेन्चाइज क्रिकेट भइसकेका छन् । तर यो पटक क्यानको नेतृत्वमा पहिलो पटक हुन लागेको एनपीएलको रौनक बेग्लै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ