शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छ - नारायणकाजी श्रेष्ठ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
743
Shares
काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्ने बेला भएको बताएका छन् । उनले शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार पूरा गरिसकेको भन्दै उनले सङ्क्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी रहेको बताए । उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरू पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको बताए ।
उनले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्ने आजको आवश्यकता रहेको पनि बताए । उनले राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर आर्थिक र सामाजिक क्षेत्रमा यसलाई विस्तारित गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले विकास र समृद्धिको प्रक्रियालाई तीव्र बनाउनुपर्ने बेला भएको बताए ।
उनले भने, ‘शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नुपर्छ । शान्ति प्रक्रियाको दुई महत्त्वपूर्ण कार्यभार हामीले गरिसकेका छौँ । राजनीतिक कार्यभार, परिवर्तनलाई संस्थागत गर्ने कार्यभार र माओवादी जनमुक्ति सेनाको समायोजन प्रक्रिया पुनः स्थापना गर्ने कार्यभार पूरा गरेका छौँ। तर अहिले सङ्क्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ । हामीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरू पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी छ । त्यसकारण शान्ति प्रक्रियाको काम अझै पूरा भएको छैन भनेर बाँकी राखिरहने स्थिति जो वर्षौंसम्म पनि नेपालमा रह्यो, त्यसलाई अब बाँकी रहन दिनु हुँदैन, राष्ट्रिय सहमति कायम गरेर हामीले शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्ने हुन्छ । आर्थिक विकास र समृद्धिको कार्यभार छ । त्यो हामीले पूरा गर्नुपर्ने हुन्छ । यो राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर आर्थिक र सामाजिक क्षेत्रमा यसलाई विस्तारित गर्नुपर्छ । र सामाजिक आर्थिक रुपान्त्रण गर्नुपर्छ । विकास र समृद्धिको प्रक्रियालाई तीव्र पार्नुपर्छ ।’
उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री श्रेष्ठले आज एसिया केन्द्रित भएर बदलिएको विश्व परिस्थिति र नेपालको भूराजनीतिक अवस्थितिको कारणले देखा परेको भूराजनीतिक संवेदनशीलताका चुनौतीहरूको बीचमा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमानताको रक्षा गर्नु सहज नरहेको बताए । चुनौती र अवसरलाई सम्हालेर अघि बढ्नु नै अहिलेको राष्ट्रिय कार्यभार रहेको बताए । उनले नेपालमा अहिले सांस्कृतिक र वैचारिक भ्रष्टीकरण व्याप्त रहेको बताए ।