arrow

रमेश लेखकले प्रधानमन्त्रीलाई रविबारे भने – छानबिन समिति गठन गरौँ 

पीडितका जाहेरी प्रमाण नभए प्रमाण के हो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
ramesh-lekhak-80-12-06.jpg

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्न संसदकै छानबिन समिति गठन गर्न माग गरेका छन् । 

प्रतिनिधि सभा बैठकमा रवि लामिछानेबारे कुनै पनि पनि दोष नभएको दाबी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएपछि कांग्रेस सांसद लेखकले सहकारी ठगीका विषयमा लामिछाने मुछिएको भन्दै यसको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्न माग गरेका हुन् । 

प्रमाण नै प्रमाण भएको दाबीसहित लेखकले पीडितका जाहेरी प्रमाण नभए प्रमाण के हो ? भनी प्रधानमन्त्रीसँग जवाफ मागेका छन् । 

कुनै पनि विषयमा मुछिएपछि मन्त्रीले राजीनामा दिएका प्रशस्त उदाहरण रहेको भन्दै नेता लेखकले गृहमन्त्री लामिछानेले पनि राजीनामा दिनुपर्ने बताएका छन् । 

सहकारीको रकम अहिलेसम्म देखिएका प्रमाण नदेखिएको, अनुसन्धानमा अपराध नदेखिएको र कांग्रेसले अनावश्यक बखेडा झिकेको भनी प्रधानमन्त्रीले बताएको भन्दै नेता लेखकले प्रधानमन्त्रीलाई नै सही जानकारी नदिएर अँध्यारोमा राख्न खोजिएको पनि बताए । उनले निष्पक्ष छानबिन हुनेमा पनि शंका उब्जेको बताए । 

प्रधानमन्त्री आफैँले प्रमाण भन्दै स्पष्ट पारेपछि प्रमाण पेश गर्दै नेता लेखकले भने, ‘पोखरा महानगरपालिकाले सूर्यदर्शन सहकारीबाट गोर्खा नेटवर्क प्रालीको नाममा, रवि लामिछानेजीको नाममा, पुलेसो कर्जा नम्बर ११६–४४५६ खडा गरी खाता नम्बर ४९–००७७० मार्फत पेस्की फर्छ्यौट गर्यो भनेर लेखेको यो प्रमाण होइन ?’

उनले अगाडि भने, ‘अथवा यो के हो ? जाहेरी दरखास्त परेको छ । ४२६–१२९ मा जाहेरी दरखास्त दर्ता छ । कास्की जिल्ला प्रहरी कार्यालयमा दर्ता छ । २०८० माघ २२ गते पीडितहरु जाहेरी दरखास्त लिएर गएका छन् । पुरानै जाहेरी दरखास्त भएको हुनाले त्यो त्यसैको निरन्तरता हुन्छ भनेर प्रहरीले त्यसलाई रेकर्डमा राखेको छ । यो पीडितहरुले दिएको जाहेरी दरखास्त प्रमाण हैन ?’

उनले अगाडि प्रधानमन्त्रीलाई भने, ‘यी त प्रधानमन्त्रीजीले नदेखेका प्रमाण भए जुन जानकारी दिनुपर्ने निकायले प्रधानमन्त्रीजीलाई जानकारी दिएको छैन । यदि जानकारी दिएको छ भने सम्माननीय प्रधानमन्त्रीजीले यसलाई गम्भीरतापूर्वक यसलाई अत्यन्त सिरियस ढंगले हेर्नुभएको छैन भन्ने मेरो आग्रह छ ।’

उनले प्रत्यक्ष प्रधानमन्त्री प्रचण्ड आफैँ पनि परेको उल्लेख गर्दै नेता लेखकले भने, ‘प्रधानमन्त्रीजी स्वयं आफैँ दुई तीन दिन पहिला पोखरा जाँदा पीडितहरुले भेटेका हुन् कि हैनन् ? अनि पीडितहरुले भेट्दा सहकारीको रकम दुरुपयोग भयो, अपचलन भयो, त्यसमा हाम्रो रकम जम्मा गरिएको थियो, त्यो रकम दुरुपयोग अपचलन गर्नेमध्ये एक जना हजुरकै क्याबिनेटको उपप्रधानमन्त्री, गृहमन्त्री माननीय रवि लामिछाने पनि हुनुहुन्छ भनेर हजुरलाई भनेको हो कि हैन ? यो पनि प्रमाण हैन ?’

उनले थप सोधे, ‘पीडितले भनेका प्रमाण हैनन्, प्रहरीमा जाहेरी दरखास्त दर्ता गरेको प्रमाण हैन, पोखरा महानगरपालिकाले यही कुरा अध्ययन गर्नका लागि समिति बनाएर समितिले प्रतिवेदन दिएर उल्लेख गरेको कुरा प्रमाण हैन ? स्वयं माननीय रवि लामिछानेजीले आफैँले कागज गरी दिएको सरकारी अड्डामा प्रमाण हैन भने मेरो सम्माननीय प्रधानमन्त्रीजीलाई आग्रह छ प्रमाण के हो ?’

रविको जस्तै प्रश्न उठ्दा पूर्व मन्त्रीहरु डा. रामशरण महत, शेरबहादुर तामाङ, गोकुलप्रसाद बास्कोटाले राजीनामा दिएका थिए । भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा प्रश्न उठ्दा बजेटबारे छानबिन समिति गठन भएको थियो । जनार्दन शर्माले राजीनामा दिनु परेको थियो । फेरि लामिछानेलाई राजीनामा दिन किन आपत्ति भयो भन्दै नेता लेखकले यति धेरै प्रमाण भएकाले अब संसदीय मान्यतामा स्थापित भएको रविबारे छानबिन गर्न सदनभित्र छानबिन समिति गठन गर्न पनि उनले माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ