arrow

भूतपूर्व गोरखा सैनिकका मुद्दा, समितिमा परराष्ट्र मन्त्री

भूपू गोरखा सैनिकका माग बेलायतले सम्बोधन गर्नुपर्ने सरकारको अडान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
british-gorkha-army-issu-samiti.jpg

काठमाडौँ । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले भूतपूर्व गोरखा सैनिकका जायज मागहरू बेलायती सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल र बेलायती सरकारबीच फेब्रुअरी २१ मा बसेको प्राविधिक समितिको बैठकमा गोरखा सैनिकका मागहरू सम्बोधन गर्न केही प्रगति भएको भए पनि समान पेन्सन लगायतका मुख्य मागहरू सम्बोधन हुन बाँकी रहेको जिकिर गरे । 

उनले समितिको अर्को बैठक २०२४ का मार्च २७ मा लन्डनमा हुने र सो बेलामा पनि आफूले भूतपूर्व गोरखा सैनिकका मागहरूका बारेमा कुरा उठाउने बताए । उनले नेपालले ब्रिटिश गोरखाको मुद्दा प्राथमिकताका साथ उठाउने गरेको बताए । उनले नेपाल सरकारको चाहना भनेको भूतपूर्व गोरखाहरूले न्याय पाउन् भन्ने नै रहेको जिकिर गरे ।

उनले भने, ‘प्राविधिक समितिको पछिल्लो बैठक फेब्रुअरी २१ मा भएको थियो । यो बैठकहरूबाट गोरखा सैनिकका मागहरू सम्बोधन गर्न केही प्रगति भएको भए पनि समान पेन्सन लगायतका मुख्य मागहरू सम्बोधन हुन बाँकी नै छन् । समितिको अर्को बैठक २०२४ का मार्च २७ मा लन्डनमा हुनेछ । सन् २०२३ नोभेम्बर १७ मा मैले बेलायतका रक्षामन्त्री महामहिम ग्राण्ड स्याप्सलाई भूतपूर्व गोरखाहरूको सम्बन्धमा व्यक्तिगत पत्रसमेत पठाएको थिएँ । जसको जवाफ २२ नोभेम्बर २०२३ मा प्राप्त भएको थियो । जवाफमा उनले गोरखाहरूको मुद्दा टुङ्ग्याउन समितिले सहयोग गर्ने विश्वास दिनुभएको थियो । हामीले संयुक्त अधिराज्य सरकार एवं संसद्का विभिन्न तहका अधिकारीसँगको हरेक बैठकमा ब्रिटिश गोरखाको मुद्दा प्राथमिकताका साथ उठाउने गरेका छौँ । नेपाल सरकारका अन्य मन्त्रालयमा हुने ब्रिटिश सरकारका प्रतिनिधिहरूको बैठकमा ब्रिटिस गोरखाको मुद्दा उठाउन आग्रह गरेका छाँै । गत साता मात्र विदेशमन्त्रलय अन्तर्गतका विकास राज्यमन्त्री एन्ड्रयु मिचेलले नेपाल भ्रमण गर्नुहुँदा भएको भेटमा मैले भूतपूर्व गोरखाको विषय उठाएको थिएँ । उहाँले सम्माननीय प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्दा प्रधानमन्त्रीज्युले यो विषय उठाउनुभएको थियो । गत महिना बेलायती सेना प्रमुख सर पेट्रिक स्ट्याण्डर्सको नेपाल भ्रमणको अवसरमा भएका भेटवार्तामा पनि यो कुरा उठाइएको छ । भूतपूर्व गोरखा सैनिकका जायज मागहरू बेलायती सरकारले सम्बोधन गर्न सक्छ र गर्नुपर्छ भन्ने सरकारको धारणा रहेको छ । सोहीअनुसार छलफल अघि बढेको छ । नेपाल सरकारको चाहना भनेको भूतपूर्व गोरखाहरूले न्याय पाउन् भन्ने नै हो ।’

मन्त्री साउदले गत साता मात्र विदेशमन्त्रलय अन्तर्गतका विकास राज्यमन्त्री एन्ड्रयु मिचेलको नेपाल भ्रमणमा आफू र प्रधानमन्त्री पुष्पकमल दाहालले समेत भूतपूर्व गोरखाको विषय उठाएको बताए । 

उनले गत महिना बेलायती सेना प्रमुख सर पेट्रिक स्ट्याण्डर्सको नेपाल भ्रमणको अवसरमा भएका भेटवार्तामा पनि सो विषय उठाएको र बेलायती सरकार सकारात्मक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ