arrow

प्रधानमन्त्रीलाई सुनील शर्माको प्रश्न- तपाईले कस्तो 'टुरिस्ट' ल्याउन खोजेको हो ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
sunil-sharma-11-13.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले पर्यटकहरूले २५ हजार भन्दा बढी भारतीय रकम बोकेर नेपाल आउन नमिल्ने कानून तत्काल संशोधन गर्न माग गरेका छन् । आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले गत फागुन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्कीका कार्डियोलोजिस्ट अब्दुल्लाह मिनीलाई ९६ हजार आइसी ल्याएकोमा पक्राउ गरिएकोबारे सरकारको ध्यानाकर्षण गराउँदै २४ घण्टाभित्र २५ हजार भारतीय रकम भन्दा बढी बोकेर आउन नपाइने व्यवस्था संशोधन गर्न माग गरे । 

उनले नेपालले पर्यटकमैत्री देश बनाउने हो भने र पर्यटन क्षेत्रलाई चलायमान बनाउने हो भने तत्काल सो व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति उक्त कानून बनाइएको हो वा डुबाउन भन्नेबारेमा गम्भीर हुनुपर्ने बताए । उनले नेपालमा पैसा नभएकालाई मात्रै ल्याएर पर्यटन उद्योग चलाउने हो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘फागुन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा घटना भयो । एक जना टर्कीबाट आउनुभएको अन्तर्राष्ट्रिय स्तरको कार्डियोलोजिस्ट गङ्गालाल अस्पतालमा आउँदै हुनुहुन्थ्यो । केही नयाँ प्रविधियुक्त कामहरू भइरहेका थिए । उनलाई गिरफ्तार गरियो । गिरफ्तार गर्नुको कारण उनले ९६ हजार आइसी बोकेर आउनुभएको रहेछ । त्यो कारणले उनलाई गिरफ्तार गरियो । मैले यो सदनमा पटक पटक आवाज उठाएको छु । २५ हजार भन्दा बढी आइसी पर्यटकहरूले चाहे सडकबाट आउँदा होस् वा एयरलाइन्सबाट आउँदा होस् बोक्न नपाउने व्यवस्था गरिरहँदा खेरी नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति हामीले बनाएको हो वा नेपालका होटल उद्योगहरू डुबाउनेका निम्ति बनाएको हो ? सरकारका यो देशका प्रधानमन्त्री, यो राज्य सत्तालाई यो कुरा थाहा छ की छैन ? वा थाहा पाएर पनि हामीले पटक पटक भन्दा पनि सुतेर किन बसेको ? अब्दुल्लाह मिनी भन्ने जसलाई समातिएको हो, प्रमाण मसँग छ । उनले त्यहाँबाट छुट्दा ४ लाख ६१ हजार २३२ रुपैयाँ पैसा नेपालभित्र उनका साथीहरूसँग सापटी लिएर धरौटी राखेर छुट्नुभयो । म प्रश्न सोध्न चाहन्छु यो मुलुकको प्रधानमन्त्रीलाई तपाईँले कस्तो टुरिस्ट ल्याउन खोजेको हो ? २५ हजार भन्दा बढी आइसी बोक्न नपाउने, अनि यो देशमा हातमा एक रुपैयाँ पैसा नभएका भिखारीलाई मात्रै ल्याएर टुरिस्ट इन्डस्ट्री चलाउने हो ? होइन भने यो कानून वा नियम २४ घण्टामा परिवर्तन गर्नुपर्छ । मुलुक कङ्गाल बनाउने हो भने यो कानूनलाई निरन्तरता दिनुपर्छ ।’

सांसद शर्माले सरकार गैर जिम्मेवारपूर्ण ढङ्गबाट चलिरहेको आरोप लगाए। उनले संसद्मा प्रतिपक्ष बोलिरहँदा सत्तापक्षका सांसदहरूले बोल्न समेत नदिएको बताए । उनले विपक्षीका आवाज दबाउने प्रपञ्च भइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ