arrow

ल्याण्डफिल्ड साइट क्षेत्रको अवस्था

जुन गाउँमा छोरीचेली दिन मान्दैनन् अभिभावक [भिडियो]

फलफूल लगायतका कृषि उब्जनीमा ह्रास, मानिसमा क्यान्सर

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
landfielside-gaou.jpg

काठमाडौं । काठमाडौंको फोहरको वैज्ञानिक व्यवस्थापन हुन नसक्दाको दुष्परिणाम ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय जनताले भोग्दै आएका छन् । फोहर फालिएको क्षेत्रका जनतामा फोहरका कारण बहुआयामिक असर देखिएको छ । यस क्षेत्रका अधिकांश स्थानीय रोगी छन् । त्यसमा झन्डै ८० प्रतिशतमा क्यान्सर देखिएको छ । 

कृषि उत्पादनमा कमी हुँदै गएको छ भने भएको उत्पादन पनि कुहिएर झर्न थालेको छ । स्थानीय स्तरमा खुलेका साना उद्योग सबै बन्द भइसकेका छन् । यसले स्थानीयको आयआर्जन र उद्यमशीलतामा असर गरेको छ । ल्याण्डफिल्ड साइट रहेको सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रको जमिन किनबेच हुँदैन । साथै बैङ्कले धितोसमेत अस्वीकार गर्न थालेको छ । यस क्षेत्रका स्थानीयको आर्थिक चक्र नै ठप्प भएको छ । 

ककनी गाउँपालिका २ का स्थानीय विश्वनाथ बजगाईँ र राजकुमार घिमिरे फोहर आएपछि अहिले ६५ प्रतिशत मानिसलाई क्यान्सर बढेको बताउँछन् । जन्मजातै क्यान्सर बोकेर आउनुपर्ने बाध्यता आफूहरूमा रहेको जिकिर उनीहरूको छ । उनीहरूले कृषि उत्पादनहरूमा पनि किरा लाग्ने र बिग्रिने गरेको बताए । फोहरको गन्धले टाउको दुख्ने समस्या त दैनिक रूपमा नै भोग्नुपर्ने अवस्था रहेको बताए ।

ल्याण्डफिल्ड साइट क्षेत्रमा आर्थिक चक्र मात्र बिथोलिएको होइन, सामाजिक चक्रसमेत प्रभावित हुन थालेको छ । स्थानीय युवतीहरूको विवाह गाउँ बाहिर भए पनि बाहिरबाट विवाह भएर आउनेमा कमी भइसकेको छ । यस क्षेत्रमा बाहिर गाउँ समुदायको कसैले पनि छोरीचेली दिन मान्दैनन् । छोराको बिहेवारिमा कमी हुँदै गएको छ । आफ्नो जग्गा छोडेर स्थानीयहरू विस्थापित हुनुपर्ने अवस्था आइसकेको गुनासो उनीहरूको छ । 

ककनी गाउँपालिका ३ का स्थानीय मनिष ढुङ्गाना र कृष्णहरि ढुङ्गानाले फोहरका कारणले विभिन्न क्यान्सरका रोगदेखि फलफूल लगायतका कृषि उब्जनीमा ह्रास आएको बताए । फोहरकै कारणले विवाह गर्न नमान्ने, जग्गा बैङ्कमा राखेर बैङ्कले ऋण नदिने समस्या भइरहेको उनीहरूको भनाइ छ । युवतीहरूको विवाह गरेर अन्यत्र जान केही सहज भए पनि अन्यत्र ठाउँमा विवाहका लागि युवकहरूलाई युवती खोज्न समस्या भइरहेको बताए । अन्यत्र स्थानका मानिसहरूले फोहर फाल्ने ठाउँ भएकै कारण कन्या नदिने गरेको बताए ।

नुवाकोटको सिसडोलबाट २०६२ सालमा २ वर्षको क्षमता रहनेगरी शुरु भएको अस्थायी स्यानिटरी ल्याण्डफिल्ड अहिले ओखरपौवा हुँदै बञ्चरेडाँडासम्म पुगेको छ । २ वर्षका लागि निर्माण गरिएको अस्थायी ल्याण्डफिल्डमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन १३ वर्षसम्म गरिएको थियो । सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रमा काठमाडौं उपत्यकाको फोहर निरन्तर फाल्न थालेको १९ वर्ष बढी भइसकेको छ । 

फोहर व्यवस्थापनलाई वैज्ञानिक बनाउन नसक्दा स्थानीय जनता मारमा परिरहेका छन् । यस क्षेत्रको समग्र विकासमा असर गरिरहेको छ । स्थानीय गाउँ छोडेर बसाइँ सर्न थालेका छन् । केही समय यस्तै रहे स्थानीयको जीवन रक्षा गर्न पूरा गाउँ नै स्थानान्तरण गर्नुपर्ने विज्ञहरूले चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ