संस्कृति र प्रकृतिमैत्री पर्यटन हुनुपर्छ : पर्यटनमन्त्री किराती
हाम्रा कुरा
प्रकाशित २०८० असोज ६ शनिबार
1.1k
Shares
कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अबको पर्यटन संस्कृति र पर्यटनमैत्री हुनुपर्ने बताएका छन् ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको ‘हेम देवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार-२०८०’ अर्पण समारोहलाई आज पोखरामा सम्बोधन गर्दै उनले नेपाली पर्यटनलाई नेपालको मौलिकतामा विकास गर्नुपर्ने बताए ।
उनले भने, “अबको पर्यटनको विकासको ‘मोडालिटी’ संस्कृति र प्रकृतिमैत्री हुनुपर्दछ, अर्काको देशको नक्कल गरेर हामीले कहिल्यै पनि प्रतिस्पर्धा गर्न सक्दैनौँ, नेपाली मौलिकताको पर्यटन संस्कृति र प्रकृतिको समायोजन नै हो ।”
पर्यटनमन्त्री किरातीले केही वर्षमा नै नेपाल संसारकै पर्यटनको केन्द्र बन्ने उल्लेख गरे ।
विश्वका लाखौँ पर्यटक एकान्तमा ध्यानका लागि नेपालजस्तो सुन्दर भूमिमा आउने उल्लेख गर्दै उनले प्रत्येक चोक, मन्दिर, वेशभूषा तथा भाषाभाषी पर्यटनका गन्तव्य बन्ने जिकिर गरे ।
गण्डकी प्रदेशका दुई प्रख्यात धार्मिकस्थल मुक्तिनाथ र विन्ध्यवासिनीलाई धार्मिक पर्यटनसँग जोड्नुपर्नेमा उनले जोड दिए ।
“पाहुनाको सुन्दर मनलाई विन्ध्यवासिनीको दर्शनले थप सुन्दर बनाउने छन्, तपाईको जति सफा हृदय छ त्यति नै यहाँ आएर थप शुद्धता भएर जानुपर्दछ भनेर पर्यटकलाई आकर्षित गर्नु आवश्यक छ”, मन्त्री किरातीले भने ।
कार्यक्रममा मन्त्री किरातीले मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य महाराज (मुक्तिनाथ बाबा)लाई ‘हेम देवी धर्म संस्कृति तथा समाज सेवा पुरस्कार-२०८०’ बाट पुरस्कृत गरे ।
पुरस्कारको राशि रु एक लाख एक हजार र सम्मानपत्र रहेको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानले आफ्ना बुबा/आमाको नाममा रु १५ लाखको अक्षयकोष खडा गरी सो पुरस्कार स्थापना गरेका हुन् ।
समितिका अध्यक्ष गणेबहादुर श्रेष्ठले नेपालको पवित्र तीर्थस्थल मुक्तिनाथ, विन्ध्यवासिनी, बागलुङको पञ्चकोटलगायतका धार्मिकस्थल तथा शक्तिपीठको विकास एवं सनातन धर्म संस्कृतिमा पुर्याएको योगदानस्वरुप स्वामी कमलनयनाचार्यलाइृ सो पुरस्कार प्रदान गरिएको बताए ।
नेपालको सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई हरेक दुई वर्षमा सो पुरस्कार प्रदान गर्ने गरिएको समितिका सचिव तीर्थ श्रेष्ठले बताए ।
यसअघि यस पुरस्कारबाट सत्यमोहन जोशी, आत्मानन्द गिरी, तुलसी दिवस र दुर्गा घिमिरे पुरस्कृत भइसकेका छन् ।