arrow

सेनाको सङ्ख्या घटाउने सोच छैन –उपप्रधानमन्त्री खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
Purna-Bahadur-Khadka-Congress.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको सङ्ख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको स्पष्ट पारेका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० को छलफलका क्रममा सांसदहरुले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिने क्रममा उनले भने, ‘मुलुकको आवश्यकता, तत्कालीन परिस्थित, मुलुक र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको सङ्ख्या निर्धारण भएको हो । भविष्यमा पनि सोही सिद्धान्तका आधारमा सङ्ख्या निर्धारण हुनेछ ।’

रक्षामन्त्री खड्काले हाल नेपाली सेना विभिन्न काममा पूर्णरुपमा जिम्मेवारीका साथ सक्रियरुपमा लागेको स्पष्ट पारे । नेपाली सेनाको सङ्ख्यालाई उच्चतम उपयोग गरी मुलुकको विकास र उन्नती तथा प्रगतिमा खटाइएको उनको भनाइ छ । 

'नेपाली सेना, संविधान, प्रचलित कानून तथा अन्तर्राष्ट्रिय मापदण्ण्ड अनुरुप सीमा सुरक्षा एवम् भौगोलिक अखण्डता रक्षाका कार्यमा सदैव क्रियाशिल रहेको प्रति सबैलाई अनुरोध गर्न चाहन्छु', उनले भने, ‘कुनै पनि देशको सेनाको सङ्ख्या उक्त देशको भौगोलिक अवस्था, राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेश र समय–समयमा मुलुकको आवश्यकता अनुसार निर्धारण हुने गर्छ ।’

उनले नेपाली सेनाको सङ्ख्या राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकारको निर्णय बमोजिम निर्धारण हुने समेत स्पष्ट पारे । साथै नेपाली सेनाले संविधान तथा अन्य कानूनले दिएको जिम्मेवारी,  सरकारले समय–समयमा दिने जिम्मेवारी, अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनाका गर्ने कार्यलगायत विभिन्न जिम्मेवारीका पनि प्रभावकारी र जिम्मेवारपूर्वक निर्वाह गरेको बताए । 

उनले भने, ‘सृष्टि रहेसम्म हाम्रो देश रहन्छ । त्यो बेलासम्म हाम्रो मुलुकको रक्षाका लागि, भौलोगिक अखण्डताका लागि, सीमा रक्षाका लागि नेपालीसँगै नेपाली सेना पूर्णरुपमा प्रतिबद्ध छ । प्रतिकुल अवस्थालाई अनुकुलतामा परिणत गर्दै नेपाली सेनाले आफ्नो भूमिका अत्यन्तै अनुशासित रुपमा निर्वाह गर्दै आएको छ ।’

उनले हाल नेपाली सेनाको दरबन्दी दरबन्दी ९६ हजार चार सय ७७ भए पनि हाल ८१ हजार दुई सय ७७ सङ्ख्या कायम भएको बताए । जसमध्ये ७४ हजार पाँच सय पाँच पुरुष र छ हजार सात सय ७२ महिला रहेको उनको भनाइ छ । 

हाल कायम रहेको नेपाली सेनालाई दुई वटा प्रमुख काममा जिम्मेवारी दिइएको उनले सुनाए । उनका अनुसार ४० हजार दुई सय ७ जनालाई शान्ति सेना, विभिन्न तालिम प्रदान, विपद् व्यवस्थापन तथा र विकास निर्माणका क्षेत्रमा खटाइएको छ भने बाँकी ४१ हजार ७० जनालाई सञ्चालन र ड्युटीलगायतमा खटाइएको छ ।

उनले नेपाली सेनालाई भौतिक पूर्वाधार निर्माण, वातावरण तथा प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा पनि खटाइएको बताउनुभयो । अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि पनि नेपाली सेनाले प्रमुख भूमिका खेलेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ