arrow

असंलग्न आन्दोलनको बैठकमा परराष्ट्रमन्त्रीले के भने ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
np-saud-2080-02-30.jpg

काठमाडौं ।  परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले वर्तमान विश्वव्यापी चुनौतीबारे प्रकाश पार्दै संवाद र विविधताको सम्मानबाट दिगो शान्ति प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

अजरबैजानको बाकुमा भइरहेको असंलग्न आन्दोलन (नाम) समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा उनले असंलग्न आन्दोलनको सिद्धान्तको महत्त्वलाई जोड दिँदै वार्ता, समझदारी र द्वन्द्वको शान्तिपूर्ण समाधानको प्रवर्द्धनमा सामूहिक प्रयास गर्न विश्व नेताहरूलाई आग्रह गरे ।

अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलन : उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ भन्ने नाराका साथ भइरहेको बैठकलाई उनले बुधबार सम्बोधन गरे मन्त्रालयले जनाएको छ ।

उनले नामभित्र अन्तर्राष्ट्रिय सहयोग प्रवद्र्धन, दक्षिण-दक्षिण सहयोगलाई प्रगाढ बनाउन र विश्वव्यापी समस्याको समाधानका लागि केन्द्रमा रहेको संयुक्त राष्ट्रसङ्घसँग बहुपक्षीयतालाई सुदृढ गर्ने आवश्यकतामा जोड दिए । 

मन्त्री साउदले नेपाल नामको सिद्धान्त र यी चुनौतीको सामना गर्ने एकताको शक्तिमा दृढ विश्वास गर्दै आएको उल्लेख गरे । उनले दिगो विकासका लागि सन् २०३० को एजेण्डा हासिल गर्न आर्थिक विकासलाई तीव्रता दिनुपर्ने र न्यायपूर्ण, समावेशी र समतामूलक विश्वव्यवस्थाका लागि प्रयास गर्नुपर्नेमा जोड दिए । 

उनले कोही पनि पछि नपरोस् भनेर सबैको समृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । परराष्ट्रमन्त्री साउदले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने नेपालको आकाङ्क्षा र नेपालमा जलवायु परिवर्तनको प्रतिकूल असरबारे अवगत गराउँदै अनुकूलन र न्यूनीकरण प्रयासका लागि जलवायु न्याय, दिगो विकासको प्रवर्द्धन र जलवायुसम्बन्धी सहयोग जुटाउन नामले सामूहिक वकालत गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

कार्यक्रमको दौरान उनले विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँगसमेत भेटवार्ता गरेको मन्त्रालयले जनाएको छ । उनी असार २३ गते नेपाल आउनेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ