arrow

परराष्ट्र नीति राष्ट्रिय हित र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ: एनपी साउद

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
np-saud-12.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्र नीति राष्ट्रिय हित, सुरक्षा र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय जनमोर्चाद्वारा आयोजित ‘निर्वाचनको मूल्याङ्कन तथा नेपालको परराष्ट्र नीतिबीचको अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो विचार व्यक्त गरेका हुन्। उनले परराष्ट्र नीति र निर्वाचनको मूल्याङ्कनलाई जोडेर हेर्दा आन्तरिक र बाह्य पक्षबीचको सन्तुलन महत्वपूर्ण हुने बताए।

नेता साउदले नेपालको संविधानले असंलग्न परराष्ट्र नीतिलाई आत्मसात् गरेको स्मरण गराउँदै व्यावहारिक रूपमा पनि असंलग्न रहनु नै नेपालको हितमा रहेको उल्लेख गरे। दुई ठूला उदीयमान अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनको बीचमा रहेको नेपालले आफ्नो परराष्ट्र नीतिलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने आवश्यकता उनले औँल्याए। नेपालको बढ्दो व्यापार घाटा र परनिर्भरताप्रति चिन्ता व्यक्त गर्दै उनले आफ्नै उत्पादन नहुँदा नेपालीको जीवनस्तर महँगीले कष्टकर बनेको बताए।

हालैको निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयबारे टिप्पणी गर्दै साउदले नयाँ शक्तिसामु चुनौतीका पहाडहरू रहेको उल्लेख गरे। विशेष गरी वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई स्वदेशमै रोजगारी दिने आश्वासन पूरा हुन नसके त्यसले भविष्यमा अर्को विद्रोह निम्त्याउन सक्ने उनले चेतावनी दिए। उनले भने, ‘जबसम्म आन्तरिक रूपमा राजनीतिक दलहरू परिपक्व भएर राष्ट्रिय चुनौतीमा एक हुँदैनन्, तबसम्म बाह्य शक्तिहरूले खेल्ने मौका पाउँछन्। हाम्रो पहिलो प्राथमिकता आन्तरिक सुरक्षा, अखण्डता र सार्वभौमिकता हुनुपर्छ।’

छिमेकी मुलुकहरूमा दशकौँदेखि स्थिर राजनीतिक परिपाटी रहेको उदाहरण दिँदै साउदले नेपालमा भने छिटो–छिटो हुने सरकार र व्यवस्था परिवर्तनले विकासमा बाधा पुर्‍याएको बताए। उनले शासनको ढाँचा र राष्ट्रिय मुद्दाहरूमा सबै राजनीतिक दलबीच न्यूनतम सहमति र स्थिरता हुनुपर्नेमा जोड दिए। अबको विदेश नीतिले आर्थिक समृद्धिका नयाँ स्रोतहरू पहिल्याउनुपर्ने उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ