खुला सीमाका कारण नेपालमा आतंकवादको चुनौती: एनपी साउद
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
730
Shares
काठमाडौं। नेपाली कांग्रेसका सांसद नारायणप्रकाश एनपी साउदले दक्षिण एसियाली सहयोग संगठन (सार्क)को अध्यक्ष राष्ट्रका रूपमा नेपालले आतंकवादविरुद्ध सैद्धान्तिक रूपमा स्पष्ट दृष्टिकोण राखेको भए पनि खुला सीमाका कारण चुनौती रहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसदसमेत रहेका नेता साउदले भारत र चीनसँगको खुला सीमाबाट आतंककारी गतिविधि नेपालमा भित्रिएमा त्यसले क्षेत्रीय सम्बन्धमा नकारात्मक असर पार्ने बताएका हुन्। उनले भारतको पहलगाम आक्रमणदेखि इजरायल–गाजा युद्धसम्मका सन्दर्भमा नेपालले सधैँ आतंकवादको विरोधमा स्पष्ट धारणा राख्दै आएको पनि बताए।
साउदले मुलुकको परराष्ट्र नीति शक्तिशाली राष्ट्रहरूको चित्त बुझाउने नभई राष्ट्रिय हितअनुसार सञ्चालन हुनुपर्ने बताए। आतंकवादलाई प्रश्रय दिन नहुने कुरामा सबै राष्ट्रहरूको साझा साझेदारी हुनुपर्नेमा उनले जोड दिए।
"अहिले दक्षिण एसियामा विशेष गरेर हामी सार्कको अध्यक्ष राष्ट्र हो," साउदले भने, "हामीले अध्यक्षता ग्रहण गरिसकेपछि सार्कका मिटिङहरू हुन सकिरहेका छैनन्। त्यसकारण सार्कमा आतंकवादका के कस्ता असरहरू हुनसक्दछन् भन्ने विषयमा नेपालको दृष्टिकोण सैद्धान्तिक रूपमा स्पष्ट नै छ। हामी जहिलेपनि आतंकवादका विरुद्धमा नै छौँ।"
उनले खुला सीमा नेपालका लागि मुख्य चुनौती रहेको स्पष्ट पारे। "तर हाम्रा अगाडि चुनौती के छ भने, भारतसँगको खुलासीमाको टेरीटोरीलाई प्रयोग गरेर यदि त्यस्ता घटनाहरू नेपाल भित्रिए भने ती देशहरू र नेपालबीचको अन्तरसम्बन्धमा के असर पर्छ? यस कुरामा हामी संवेदनशील हुनुपर्ने अवस्था छ।"
साउदले फैलिँदो आतंकवादविरुद्ध लड्नका लागि मेकानिज्म र इन्टेलिजेन्स सेलहरूको विकासमा ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको बताए।