arrow

आन्दोलनमा भन्सार एजेन्ट प्रतिनिधि, आइतबारदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ९ शनिबार
department-of-customs-भन्सार विभाग.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भन्सार एजेन्टका प्रतिनिधिहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले आर्थिक वर्ष २०८०–८१ को आर्थिक विधयकमा भन्सार ऐन संशोधन गरी भन्सार एजेन्टका प्रतिनिधिहरु हटाएको विरोधमा देशैभर रहेका ३०० बढी भन्सार एजेन्टका प्रतिनिधिहरु आद्यनेलनमा उत्रिएका हुन् । 

उनीहरुले आइतबारदेखि भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिने लगायतका चरणवद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । प्रेस विज्ञप्ति जारी गर्दै भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले आइतबारदेखि आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।  

भन्सार एजेन्ट प्रतिनिधि संघ संघर्ष समितिका संयोजक खड्गबहादुर कार्कीका अनुसार भन्सार ऐन २०६४ को दफा ५१ मा भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धी व्यवस्थाको उपदफा १ मा “निकासी वा पैठारी हुने मालबस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रूपमा काम गर्न चाहने व्यक्तिले विभाग वा भन्सार कार्यालयबाट भन्सार एजेन्टको इजाजतपत्र लिनु पर्नेछ” भन्ने व्यवस्थालाई संशोधन गरी सो को सट्टा “निकासी वा पैठारी हुने मालबस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्टको रूपमा काम गर्न चाहने व्यक्तिले विभागबाट भन्सार एजेन्टको इजाजतपत्र लिनु पर्ने छ“ भन्ने व्यवस्था गरेको छ ।

सो उपदफा १ को आधारमा भन्सार नियमावली २०६४ को नियम ३७ मा भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धी व्यवस्थाको उपनियम ९ मा भन्सार एजेन्टले बढीमा २ जना व्यक्तिलाई आफ्नो प्रतिनिधिको रुपमा नियुक्त गर्न सक्ने व्यवस्था गरेको थियो । यो व्यवस्था आर्थिक विधयक सँगसँगै लागु भएको छ । 

यस व्यवस्थाले ३०० बढी भन्सार एजेन्टका प्रतिनिधिहरुको रोजगारी गुमेको छ। संयोजक कार्कीले भन्सार विभाग र अर्थ मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण र ज्ञापनपत्र बुझाएपछि पनि कुनै सुनुवाइ नभएकोले बाध्य भई आन्दोलन गर्नु परेको बताएका छन् । उनले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । 

संघर्ष समितिले भन्सार एजेन्टका प्रतिनिधिहरुले पुनः काम गर्न पाउनुपर्ने र वर्षौँदेखि काम गरिरहेका प्रतिनिधिहरुलाई भन्सार एजेन्टको इजाजतपत्र वितरण गर्नुपर्ने लगायतका माग राखेर संर्घषका कार्यक्रम प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ।

एजेन्ट प्रतिनिधिहरुको आन्दोलनमा राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालले पनि ऐक्यबद्धता जनाएको छ । 

विज्ञप्ति निकालेर भन्सार एजेन्ट परिषदले एजेन्टका प्रतिनिधिहरुको खोसिएको रोजगारीविरुद्ध ऐक्यबद्धता जनाएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ